राष्ट्रपतिद्वारा महालेखा परीक्षकको कार्यालय भवन शिलान्यास

काठमाडौँ, १८ मंसिर २०७४ राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालय भवनको आज अनामनगरमा शिलान्यास गर्नुभयो ।

लामो समयदेखि बबरमहलमा रहेको सो कार्यालयको ऐतिहासिक भवनलाई २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पु¥याएपछि सो स्थानमा नयाँ भवन निर्माण हुन लागेको हो ।

१० रोपनी १३ आना जमिनमध्ये ७ रोपनी जमिनमा अत्याधुनिक ७ तल्ले भवन बन्नेछ । निजी निर्माण कम्पनी लुम्बिनी, गौरी पार्वती र शान्ति जेवीले आगामी ३ वर्षभित्र सो भवन निर्माण सम्पन्न गरी सक्ने गरी ठेक्का पाएका छन् ।

जमिनमुनि २ र जमिनमाथि ५ तल्ले भवन मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु ५४ करोड ३२ लाखमा निर्माण सम्पन्न हुनेछ ।

भवन निर्माणको अनुगमन शहरी विकास तथा भवन निर्माण विभागले गर्नेछ । निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न भएमा लाभांसको व्यवस्था रहेको छ ।

भवन नेपाली मौलिक कलात्मक शैलीमा अपांगमैत्री, भूकम्प प्रतिरोधी तयार हुनेछ महालेखा परीक्षक कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले समारोहलाई सम्बोधन गर्दै आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न महालेखा परीक्षकको कार्यालयले अझ ध्यान दिनुपर्छ भन्नुभयो ।

उहाँले एकातर्फ विकास निर्माण विनियोजित बजेट खर्च नहुने अवस्था आउनु अर्कोतर्फ बेरुजु बढ्दै जाने स्थितिलाई अन्त्य गर्न आवश्यक रहेकामा जोड दिँदै संविधानले महालेखा परीक्षकको कार्यालयलाई निर्दिष्ट गरेका प्रावधानलाई कार्यान्वयन उतार्न आग्रह गर्नुभयो ।

सरकारी अनुदान प्राप्त संघ, संस्था तथा गैरसरकारी संस्थाका आर्थिक कारोबारलाई पनि चुस्त र दुरुस्त बनाउन सबैको ध्यान जानु जरुरी रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

सो अवसरमा महालेखा परीक्षक टंकमणि शर्मा दंगालले भवन निर्माणका बारेमा जानकारी दिँदै सार्वजनिक निकायको वर्षेनी बेरुजु बढ्दै जाँदा हाल रु ४ अर्ब पुगेको बताउनुभयो ।

आफू महालेखा परीक्षकमा नियुक्ति भएपछि छ वर्षे कार्ययोजना सार्वजनिक गरेको कार्ययोजनाअनुसार कार्यालयको आन्तरिक व्यवस्थापनमा सुधार गर्दै यस वर्षदेखि स्थानीय निकायको समेत लेखापरीक्षण शुरु भएको जानकारी दिनुभयो ।

 

  • 45Read This News:
  • 480714Total reads:
  • 288172Total visitors: