६५ वर्षीय माओवादी केन्द्रका सल्लाहकार जनवादी गायक पाख्रिनको निधन

चितवन, ६ मंसिर २०७४ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार तथा जनवादी गायक खुशीराम पाख्रिनको मंगलवारहृदयघातबाट निधन भएको छ ।

संयुक्त वाम गठबन्धनको आयोजनामा चितवनको भरतपुरमा आयोजित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको श्रद्धाञ्जलि सभामा गीत गाएपछि अस्वस्थ हुनुभएका पाख्रिनको अपराह्न उपचारका क्रममा नारायणी सामुदायिक अस्पतालमा निधन भएको हो ।

चिकित्सकका अनुसार हृदयघातका कारण उहाँको निधन भएको हो । “गठबन्धनको कार्यक्रम शुरु हुनु केहीअघि उहाँले एउटा गीत गाउनुभयो, एकैछिनमा टाउको दुख्यो भन्दै निस्कनुभयो, ज्वाइँ प्रताप गुरुङले भन्नुभयो, “तत्कालै २ः५५ बजे अस्पताल पुर्याइएकामा केही समयपछि नै चिकित्सकले मृत घोषणा गरेको हो ।”

यसअघि सोही अस्पतालमा पाख्रिनले रक्तचाप र मधुमेहको नियमित उपचार गराउँदै आउनुभएको थियो । पाख्रिनले नै नारायणी सामुदायिक अस्पतालमा जाने भनेपछि उहाँलाई दिउँसो प्रहरीको गाडीमा राखेर अस्पताल पुर्याइएको थियो । उहाँलाई मञ्चबाट डोर्याएर तल ल्याएर गाडीमा राखेपछि एकपटक वान्ता गर्नुभएका पाख्रिनले अस्पतालमा पुगेर पनि एकपटक वान्ता गर्नुभएको थियो ।

चितवनको भरतपुर महानगरपालिका–१९ रामपुर घर भएका पाख्रिनको जन्म विसं २००९ मा भएको हो । ६५ वर्षीय पाख्रिनका श्रीमतीसहित १ छोरा र २ छोरी छन् । १ छोरा भने द्वन्द्वकालमा शहिद भएका थिए । उहाँको पार्थिव शरिरलाई आज बिहान ८ बजे नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय भरतपुरमा श्रद्धाञ्जलिसभाका लागि राखिने माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले जानकारी दिनुभयो ।

सभामा माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिनुभयो ।

 

  • 35Read This News:
  • 459294Total reads:
  • 268816Total visitors: