हेलिकोप्टरमार्फत खोटाङमा निर्वाचन सामग्री ढुवानी

आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली सेनाको हेलिकोप्टरबाट खोटाङ ल्याइएको निर्वाचन सामग्री भण्डारण गृहतर्फ लैजाँदै ।

खोटाङ, २३ कात्तिक २०७४ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्री आज नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ ।

हेलिकोप्टरमार्फत मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारलगायत आवश्यक सामग्री ढुवानी गरिएको हो ।

१ लाख २५ हजार १८३ मतदाता रहेको जिल्लामा निर्वाचन सामग्री ल्याइएसँगै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिनुभयो । जिल्लामा १७९ मतदान केन्द्र रहेको छ ।

जिल्लामा कायम गरिएको १३६ मतदानस्थलमध्ये २८ वटालाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएको छ । जिल्ला सुरक्षा समितिको बैठकमार्फत भौगोलिक अवस्था, सुरक्षा चुनौती, निर्वाचन केन्द्रमा हुनसक्ने झडप, पार्टीबीचको माहोल, सम्भावित आपराधिक क्रियाकलाप, विगतका चुनावमा भएका घटना लगायतका आधारमा मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।

निर्वाचन अवधिभर १ हजार ८०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ । १० वटा राजनीतिक दलका नेताले उम्मेदवारी दिएका छन् । जिल्लामा एउटा प्रतिनिधि सभा र २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ ।

 

  • 24Read This News:
  • 459678Total reads:
  • 269182Total visitors: