जग्गा कित्ताकाटको निर्णय खारेज गर्न पर्साका किसानको माग

पर्सा, २३ कात्तिक २०७४ । जग्गा कित्ताकाट गर्न सरकारले लगाएको प्रतिबन्ध हटाउन पर्साका किसानले माग गरेका छन् । किसान संर्घष समिति पर्साले आज वीरगन्जमा पत्रकारसम्मेलनको आयोजना गरी यस्तो माग गरेको हो ।

नेपालमा दिनानुदिन खेतीयोग्य जग्गामा भइरहेको कृषि कार्यबाहेकको गतिविधि रोक्न सरकारले जग्गाको वर्गीकरण गर्नुका साथै भू–उपयोग नीति ल्याउनुपर्ने किसानको माग रहेको छ । गत साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले एक वर्षमा एक पटक मात्र जग्गा कित्ताकाट गर्न पाउने गरेको निर्णय खारेज गर्न सरकारलाई संर्घष समिति पर्साका संयोजक ज्योतिलाल कलवारले आग्रह गर्नुभयो । उहाँले सरकारले भू–उपयोग नीति निर्माण नै नगरी खाद्यसुरक्षा तथा खाद्य सम्प्रभुताको नाममा जग्गा कित्ताकाटमा लगाएको प्रतिबन्ध अव्यावहारिक भएको र यसले किसानलाई समस्यामा परेकाले चाँडोभन्दा चाँडो प्रतिबन्ध हटाउन माग गर्नुभयो ।

दिनानुदिन बढ्दै गएको जनसङ्ख्याको कारण खेतीयोग्य जग्गा घडेरीमा रुपान्तरित भएकाले बढ्दो जनसङ्ख्यालाई नियन्त्रण गर्न सरकारले कानून ल्याउनुपर्ने संयोजक कलवारको भनाइ रहेको छ । सरकारले लगाएको प्रतिबन्धका कारण तराईका जिल्लामा रहेका किसानले जग्गा बिक्री गर्न नपाउँदा छोराछोरीको विवाह वा बिरामीको उचारमा समस्या भएकाले मन्त्रिपरिषद्को निर्णयलाई खारेज गरी जनतालाई राहत दिन किसानले सरकारसँग आग्रह गरेका छन् ।

 

  • 56Read This News:
  • 459699Total reads:
  • 269201Total visitors: