पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कास्की, ९ कात्तिक २०७४ । आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला समन्वय समिति कास्कीको भवनमा आजदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले आज एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गर्दै निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल, मतदाता र राष्ट्रसेवक कर्मचारीहरुको दायित्व समान रहेको धारणा राख्नुभयो । उहाँले निर्वाचनका कार्यक्रमलाई अघि बढाउन आपूm निरन्तर छलफल गर्दै अघि बढ्ने धारणा राख्नुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न स्थानीय प्रशासनले सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्वाचन अधिकृत गंगालाल सुवेदीले स्थानीय तहको निर्वाचनमा झैँ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय प्रमुख र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

पोखरा उपत्यका नगर विकास समितिको भवनमा प्रतिनिधि सभा क्षेत्र नं १, डिभिजन सहकारी कार्यालयको भवनमा प्रतिनिधि सभा क्षेत्र नं २ र जिल्ला समन्वय समितिको भवनमा प्रतिनिधि सभा क्षेत्र नं ३ को निर्वाचन कार्यालय राखिएका छन् ।

 

  • 18Read This News:
  • 438633Total reads:
  • 250624Total visitors: