प्रथम मिनी–म्याराथन सम्पन्न, सवीन गुरुङ विजयी

चितवन, ६ असोज २०७४ । दशैँको अवसर पारेर चितवनको भरतपुरमा प्रथम धनगढा खुल्ला मिनी–म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्ला युवा समिति चितवनको आयोजना तथा धनगढा एकीकृत विकास समितिको मूल व्यवस्थापनमा घटस्थापनाको अवसरमा बिहीबार म्याराथन दौड सम्पन्न भएको हो ।

म्याराथुन दौडको निर्धारित ९ किमी दूरी २४ मिनेटमा पार गर्दै पोखराका बक्सिङ खेलाडी सवीन गुरुङ प्रथम हुनुभएको छ । यस्तै, अछामका नरेन्द्र बुढा दोस्रो र सशस्त्र प्रहरीमा कार्यरत बैतडीका प्रकाशसिंह भाट तेस्रो हुनुभयो ।

गोरखाकी बेनिशा जोशीले सान्त्वना पुरस्कार प्राप्त गर्नुुभयो भने खेलमा सहभागी जनाउनुभएका सबैभन्दा बढी ५५ वर्षका प्रतियोगितामा सहभागी चितवनका सुरेश सेनले समेत सान्त्वना पुरस्कार पाउनुभयो ।

सो म्याराथनमा प्रथम हुनेलाई रु २० हजार, दोस्रो हुनेलाई रु १५ हजार र तेस्रो हुनेलाई रु १० हजार प्रदान गरिने जिल्ला युवा समिति चितवनका अध्यक्ष अस्मिन घिमिरेले जानकारी दिनुभयो ।

केही दिनमा हुने दशैँ शुभकामना आदानप्रदान कार्यक्रममा पुरस्कार वितरण गरिने जनाइएको छ । यस्तै, सान्त्वना पुरस्कार प्राप्त गर्ने दुईजनालाई रु ३ हजार र रु २ हजार प्रदान गरिने जनाइएको छ ।

भरतपुरको धनगढा मन्दिर परिसरबाट शुरु भएको म्याराथन दौडअन्तर्गत सहभागीले वडा नं १२ को परिक्रमा गरेका थिए ।

युवालाई खेलकुदप्रति आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको घिमिरेले जानकारी दिनुभयो । आगामी वर्षपनि खेल जारी राख्ने जिल्ला युवा समिति, चितवनले जनाएको छ ।

 

  • 39Read This News:
  • 417657Total reads:
  • 230412Total visitors: