रु ११ लाखको लागतमा उद्यान निर्माण कार्य शुरु

कञ्चनपुर, १ असोज २०७४ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा करिब रु ११ लाखको लागतमा उद्यान निर्माणको कार्य शुरु गरिएको छ ।

जिल्ला वन कार्यालयको रु ८ लाख ५४ हजार, नगरपालिका को रु २ लाख र निड्स नामक गैरसरकारी संस्थाको रु १ लाख ७५ हजारको लागतमा उद्यान निर्माणको कार्यलाई अगाडि बढाएकोे हो ।

नगरपालिकाको स्वामित्वमा रहेको उद्यानमा एककोठे कार्यालय भवन, प्रवेशद्वार, शौचालय, २८० मिटर चौडाइको बोल्डर पिच, ब्याडमिन्टन कोर्ट निर्माण गरिएका छन् । उद्यानमा ८० प्रजातिका फूलका बिरुवा रोपिएको छ ।

“चार बिगाहा क्षेत्रफलमा फैलिएको उद्यानमा २ हजार सिसौ, लिप्टिस, सागुन, बाँस, लहरेपीपल, वरलगायतका रुख प्रजातिका बिरुवा रोपेका छौँ”, उद्यान निर्माण समितिका अध्यक्ष करनसिंह ऐरले भन्नुभयो ।

उद्यानमा घेरबार राख्नका लागि यसअघि नगरपालिका र वडा कार्यालयले रु ५ लाख खर्च गरेको थियो ।

उद्यानमा सेड हाउस, पानीका फोहरा, बालबालिका खेल्नका लागि आवश्यक सामग्री, उद्यानमा घुम्न आउनेहरुका लागि विश्रामस्थल निर्माणका लागि भविष्यमा कार्य अगाडि बढाइने नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो ।

“यसका अतिरिक्त वडा कार्यालय, सामाजिक संघसंस्थाका कार्यालय भवन र खेलकुदका लागि मैदानसमेत निर्माण गर्ने लक्ष्य लिएका छौँ”, उहाँले भन्नुभयो ।

सनवोरा नदी किनाराको एकान्त क्षेत्र भएकाले बजारको कोलाहलबाट टाढा रम्नेका लागि उद्यान गतिलो गन्तव्य हुने उहाँको भनाइ छ ।

 

  • 50Read This News:
  • 480339Total reads:
  • 287820Total visitors: