अमेरिकाद्वा नेपाललाई रु ५० अर्ब सहयोग ५ वर्ष भित्र खर्च गर्नुपर्ने

मिलेनियम कर्पोरेट च्यालेन्ज कम्प्याक्ट कार्यक्रम अन्तर्गतको ५० करोड डलर बराबरको रकम सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्दै अमेरिकी सरकारको तर्फबाट एमसिसी च्यालेन्जका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासा र नेपाल सरकारको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ।

अमेरिका, ३० भाद्र २०७४ । अमेरिकी सरकारले नेपालको आर्थिक विकास र गरिबी निवारणका लागि सहयोग गरेको मिलेनियम कर्पोरेट च्यालेन्ज कम्प्याक्ट कार्यक्रमअन्तर्गतको सहयोगसम्बन्धी सम्झौतामा बिहीबार वासिङ्गटन डिसीमा हस्ताक्षर भएको छ ।

सम्झौतामा अमेरिकी सरकारको तर्फबाट एमसिसी च्यालेन्जका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासा र नेपाल सरकारको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दे अमेरिकाका उपविदेशमन्त्री जोन जे सुलिभानले नेपालको आर्थिक विकासको माध्यमबाट न्यून आय भएका जनताको जीवनस्तर उकास्न अमेरिकी सरकारले सहयोग पुर्याउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो– अमेरिका र नेपालबीच द्विपक्षीय सम्बन्धमा यसले मजबुत सहकार्यको सन्देश दिन सफल भएको छ । साथै, यसले नेपालको आर्थिक वृद्धिमा र संस्थागत संरचनाको मजबुत आधारशीला निर्माण गर्न सहयोग पुग्ने विश्वास लिएको छु ।

MCC Grant Assistance of USD 500 Million to Nepal

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले नेपाल अमेरिकाको सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको घडीमा यो सम्झौता एउटा कोशेढुंगा सावित भएको बताउनुभयो । कार्कीले अगाडि भन्नुभयो यो द्विपक्षीय सम्बन्धको ऐतिहासिक क्षण हो ।

उहाँले नेपालको प्रजातान्त्रिक प्रक्रियामा विस्तारै संस्थागत विकास हुँदै गएको अवस्थामा यो सहयोगलाई पूर्ण प्रतिबद्धताका साथ कार्यान्वयनमा लैजान सरकार कटिबद्ध रहेको बताउनुभयो ।

MCC Grant Assistance of USD 500 Million to Nepal

साथै, अमेरिकी सरकारले नेपालको दिगो विकास र गरिबी निवारणमा गर्र्दै आएको सहयोगका लागि नेपाल सरकारका तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै मन्त्री कार्कीले सामाजिक आर्थिक रुपान्तरणमा एमसिसी च्यालेन्जको सहयोग महत्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा एमसिसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत नासाले एमसिसी च्यालेन्जको माध्यमबाट विभिन्न क्षेत्रमा सहयोग गरिएको चर्चा गर्दै दक्षिण एशियाली देशमध्ये नेपालको गरिबी निवारणका लागि यो रकम सहयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–मलाई विश्वास छ, यसलाई तोकिएको समयमा सम्पन्न गर्न नेपाल सरकारले महत्वपूर्ण भूमिका खेल्नेछ ।

यो कार्यक्रमअन्तर्गत अमेरिकी सरकारले नेपाललाई ५० करोड डलर बराबरको रकम सहयोगस्वरुप उपलब्ध गराउनेछ जसमा नेपाल सरकारले १३ करोड डलर रकमको योगदान गर्नेछ । यसरी ६३ करोड डलरअर्थात् करिब ६३ अर्ब रुपैयाँ बराबरको यो आयोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । यसबाट २१३ किलोमिटर विद्युत् ट्रान्समिसन लाइनको निर्माण र सडक विस्तारमा खर्च गरिनेछ ।

डिसीस्थित स्टेट डिपार्टमेन्टको ट्रिटी हलमा आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत एलिना वी टेप्लीज, अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनबहादुर कार्की, न्यूयोर्कका लागि कन्सुलेट जनरल मधुकुमार मरासिनी, अर्थमन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल, स्टेट डिपार्टमेन्टका अधिकारी, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेललगायतको उपस्थिति थियो ।

 

  • 37Read This News:
  • 459200Total reads:
  • 268731Total visitors: