सम्झौता कार्यान्वयन नहुँदा सवारी चालक अनुमती परीक्षार्थीलाई सास्ती

भक्तपुर, ६ भाद्र २०७४ । भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने वर्ष २६ का सुमित्रा पौडेल कारको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा दिन बिहान ७ बजे लाममा बस्नुभयो ।

काठमाडौँको मिनभवनस्थित ट्रलिबस पार्कमा लाममा बस्नुभएका उहाँको अपरान्ह ४ बजे परीक्षाको पालो आयो । लिखित परीक्षा उत्तीर्ण गरेको २ सातापछि पालो आएको परीक्षा दिन पनि उहाँलाई घण्टा लाममा बस्नुपर्र्यो ।

उहाँले भन्नुभयो– “पैसा तिरेर सवारी अनुमतिपत्र लिन पनि निकै सास्ती खेप्नु र्पर्यो । परीक्षाको व्यवस्था गर्न पनि नसक्ने यातायात व्यवस्था विभागको कामलाई सम्बन्धित मन्त्रालयले किन नदेखेको ?”

पौडेल मात्रै होइन सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने जानुका नेपालको अवस्था पनि उस्तै नै रह्यो । स्कुटरको लागि लिखित परीक्षा दिएको एकसातामा आएको परीक्षामा सहभागी हुन बिहान ६ बजे मीनभवन पुग्नुभएको उहाँको परीक्षाको पालो दिउँसो ३ बजे मात्रै आयो ।

दिनभर सास्ती खेपेर लाममा बस्नुपरेको बताउँदै उहाँले यातायात व्यवस्था विभागको लापर्बाहीका कारण आम नागरिकले सास्ती खेप्नु परेको गुनासो गर्नुभयो ।

यातायात व्यवस्था कार्यालय भक्तपुरले भक्तपुर र काभ्रेलगायत पूर्वी जिल्लाका बासिन्दालाई सहजरुपमा सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा निःशुल्क दिने व्यवस्था गर्न मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित ‘इजी वे’ परीक्षा सेन्टर प्रालिसँग सम्झौता गरे पनि त्यसलाई कार्यान्वयन नगर्दा सेवाग्राहीले सास्ती खेप्नुपरेको हो ।

कार्यालयले २ पाङ्ग्रे सवारी साधनका लागि भक्तपुरमै पहिलो पटक गत साउन ८ गतेदेखि परीक्षा सञ्चालन गर्न लाग्दा परीक्षार्थीसँग लिइने सवारी साधनको शुल्कका विषयमा भएको विवादका कारण रोकिएपछि अहिले सम्झौता कार्यान्वयन हुनसकेको छैन ।

यातायात व्यवस्था विभागको निर्देशन भन्दै परीक्षा दिने परीक्षार्थीसँग प्रतिव्यक्ति रु ५५ शुल्क लिने गरी भेहिकल सोलुसन एण्ड रिसर्च सेन्टरले यामाहा मोटरसाइकलबाट परीक्षा दिलाउन इजी वे परीक्षा सेन्टर प्रालि सहमति गरेपछि विवाद चर्किएको थियो ।

सेवाग्राहीले परीक्षा दिने सवारीसाधन निःशुल्क उपलब्ध गराउनुपर्ने वा आपूmले ल्याएका सवारी साधनबाट परीक्षा दिन पाउनुपर्ने माग राखेको र भेहिकल सोलुसन एण्ड रिसर्च सेन्टरले शुल्क नलिई परीक्षा सञ्चालन नगर्ने जनाएपछि भएको विवादका कारण कार्यालय र इजी वे परीक्षा सेन्टर प्रालिबीचको सम्झौता कार्यान्वयन नहुँदा सेवाग्राहीले समस्या भोग्नुपरेको हो ।

यहाँको विवाद र सेवाग्राहीको मागअनुसार मोरङका दीपक पराजुलीले गत भदौ १ गते सर्वोच्च अदालतमा दायर गरेको रिटको २ गते नै न्यायाधीश ओमप्रकाश मिश्रको इजलाशले परीक्षामा सेवाग्राहीसँग कुनै पनि शुल्क लिन नपाउने गरी अन्तरिम आदेश जारी गर्यो तर पनि भक्तपुरमा भने सम्झौता कार्यान्वयन गर्न अझै चासो दिइएको छैन ।

पराजुलीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, अर्थ मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय र भेहिकल सोलुसन एण्ड रिसर्च सेन्टरलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

परीक्षामा सेवाग्राहीलाई निःशुल्क परीक्षा सेन्टर तथा सवारीसाधन उपलब्ध गराउने इजी वे परीक्षा सेन्टर प्रालिसँग कार्यालयले गरेको सम्झौता तत्काल कार्यान्वयन भए भक्तपुर र काभ्रेलगायत पूर्वका जिल्लाका सेवाग्रहीले सवारी अनुमति पत्र लिन सास्ती खेप्नु नपर्ने पराजुलीले बताउनुभयो ।

सर्वोच्चको अन्तरिम आदेश स्वागतयोग्य भएको बताउँदै परीक्षामा सहभागी हुन बिहान ६ बजे भक्तपुरको साँगाबाट मीन भवन आउनुभएका रामेश्वर वाग्लेले भक्तपुरमै परीक्षा दिन पाउने व्यवस्था गरे सेवाग्राहीले लिखित परीक्षा दिएको दुई सातासम्म परीक्षा दिन र बिहान ४ बजेदेखि लाममा बस्नु नपर्ने बताउनुभयो ।

उहाँले विभागले कमिसनको खेलमा आमनागरिकलाई दुःख दिन भक्तपुरमा परीक्षा सञ्चालन नगरेको आरोप लगाउँदै सर्वोच्चको आदेशको सम्मान गर्दै जतिसक्दो छिटो भक्तपुरमै परीक्षा दिन पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

यता इजी वे ट्रायल सेन्टर प्रालिका सञ्चालक निर्भयबाबु प्रसाईंले आमनागरिकको सुविधा र सहजताका लागि सरकारलाई आफूले निःशुल्क परीक्षा सेन्टर उपलब्ध गराउन सम्झौता गरेको बताउँदै परीक्षा दिने नागरिकलाई सवारीसाधन समेत निःशुल्क उपलब्ध गराउन आफू तयार रहेको जानकारी दिनुभयो ।

कार्यालय प्रमुख अनोज घिमिरेले भक्तपुरमा परीक्षा सञ्चालन गर्न आफू लागिपरेको र विभागबाट निर्देशन आए भक्तपुरमा परीक्षा सञ्चालन गर्न गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न तयार रहेको बताउनुभयो ।

भक्तपुर कार्यालयमा दैनिक ३०० भन्दा बढी सेवाग्राहीले आवेदन दिने गरेपनि परीक्षा दिने स्थानको अभावले एक सातामा २ पाङ्ग्रेको ८५० र ४ पाङ्ग्रेको २५० जना भन्दा बढीलाई परीक्षामा सहभागी गराउन नसकिएको उहाँको भनाइ छ ।

रमेश गिरी/रासस

 

  • 76Read This News:
  • 438644Total reads:
  • 250635Total visitors: