जोखिम मोलेर यात्रा गर्न बाध्यछन जयपृथ्वी राजमार्गमा यात्रु

बैतडी, २७ साउन २०७४ । बैतडीको खोड्पेसँग बझाङको चैनपुर जोड्ने जयपृथ्वी राजमार्गमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

भिर, साँघुरो सडक, अनि ठूल्ठूला सवारी साधन चल्ने जयपृथ्वी राजमार्गको बैतडी र बझाङका विभिन्न ठाउँमा पहिरोको जोखिम रहेको छ । यसका साथै धेरै ठाउँमा खोलामा पुल नहुँदा सडकमा माटो जम्मा भई भिरालो बन्न जान्छ र पहिरो गएको ठाउँको सडक हिलाम्ये बन्छ ।

जयपृथ्वी राजमार्गमा यात्रुहरु डर र त्रासमा यात्रा गर्न बाध्य छन् । सडक निकै नै डरलाग्दो रहेकाले डरैडरमा चैनपुरदेखि खोड्पेसम्म पुगेको पवित्रा राईको विचारछ । उहाँले भन्नुभयो – “साघुँरा सडकमा ठूलो गाडीमा यात्रा गर्दा कतिखेर खोड्पे पुगौं जस्तो भइरह्यो । वर्षात्को समयमा त यात्रा निकै नै जोखिम हुने रहेछ ।”

पहिलोपटक जयपृथ्वी राजमार्गमा यात्रा गरेको बताउने पवित्राले सधैं यो सडकमा यात्रा गर्नेले त भगवान् भरोसामा हिड्नुपर्ने अनुभव सुनाउनुभयो ।

जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने बैतडीको झौलेक, ज्यापु लगायतका ठाउँ र बझाङको जाल्याबगर, देउरा, देउलेक, रायल, बागथला र नारुगाडमा बेलाबेलामा खसिरहने पहिराले राजमार्ग अवरुद्घ हुने गरेको छ । यसले दुर्घटना निम्त्याउने जोखिम त छँदैछ ।

बझाङलाई राजधानी काठमाडौँ, धनगढी, महेन्द्रनगर जोड्ने एकमात्र राजमार्ग भएकाले यो मार्ग अवरुद्द हुँदा धेरैलाई समस्या हुने गरेको छ ।

पहिरोका कारण असारदेखि अहिलेसम्म १२ पटक जयपृथ्वी राजमार्ग अवरुद्द भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माथिबाट पहिरो झरिरहँदा पनि जोखिम मोलेरै गाडी चलाउनुपर्ने बाध्यता रहेको चालकहरुले बताउँछन् । ना ५ ख २८३१ नं का बस चालक रघुवीर भण्डारीले भन्नुभयो – “कतिबेला पहिरो खस्छ भन्ने डरैडरले माथितिर हेरी गाडी चलाउनुुपर्छ । जोखिम मोलेर गाडी हाक्नुपर्छ । दुई टायर पड्किसके । सडकको अवस्था खतराजनक छ ।”

बैतडीको खोड्पेदेखि चैनपुरसम्मको जयपृथ्वी राजमार्गको कूल लम्बाइ १०८ किलोमिटर रहेको छ ।

पाल्पा घर भएर ८ वर्षदेखि जयपृथ्वी राजमार्गमा गाडी चलाइरहनु भएका ना ४ ख ५०७४ नं का ट्रक चालक कृष्ण थापाले पनि साँघुरो सडकमा सवारी हाँक्न निकै अप्ठेरो हुने गरेको अनुभव सुनाउनुभयो । ठूलो गाडीका लागि सडक साँघुरो भएकाले समस्या हुने गरेको र वर्षात्को समयमा त निकै कठिन हुने गरेको उहाँ बताउनुहुन्छ ।

चीनको तिब्बतसँग जोडिँदै गरेको सडक अन्तर्राष्ट्रिय सडक भनिएपनि राजमार्गको स्थिति भने कहालिलाग्दो छ ।

बैतडीको खोड्पेदेखि बझाङको चैनपुरसम्म १०८ किलोमिटर लम्बाइ रहेको यो सडकलाई विश्व बैंकको सहयोगमा ५ वर्षअघि कालोपत्र गरिएको थियो । कालोपत्र गरिएको अधिकांश ठाउँमा उप्किएर बाटो कच्चीजस्तै बनेका छन् ।

जयपृथ्वी राजमार्गलगायत सुदूरपश्चिमका दशरथचन्द राजमार्ग र महाकाली राजमार्गमा दुर्घटनाको बढ्दै गएकाले विश्व बैंकको करिव रु २० करोडको सहयोगमा स्टिलबार (स्टिल क्रस बेरियर) लगाउने काम भएको छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य राजमार्गमा स्टिलबार लगाइसकिएको निर्माण कार्यको ठेक्का पाएको गौरी पार्वती सूर्य जेभी कन्सट्रक्सनले जनाएको छ ।

दुर्घटना न्यून गर्न विसं २०७२ फागुनदेखि विश्व बैंकको सहयोगमा सडक विभाग वैदेशिक महाशाखा, सडक तथा ट्राफिक सुरक्षा योजनाअन्तर्गत बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको सतवाझ झुलाघाट सडकखण्ड र महाकाली राजमार्गअन्तर्गत बैतडीकै सतवाझदेखि दार्चुला सदरमुकाम खलंगा जोड्ने सडकखण्डमा स्टिलबार लगाइएको आइओडब्लुका सुपरभाइजिङ कन्सल्टेन्ट पंकज चन्दले जानकारी दिनुभयो ।

खोड्पेदेखि बझाङ सडकखण्डको दुर्घटना बढी हुनसक्ने ११.४५ किलोमिटर क्षेत्र, बैतडीको सतवाझ झुलाघाट सडकखण्डको बढी दुर्घटना हुनसक्ने ४.७९ किलोमिटर क्षेत्र र सतवाझ गोकुलेश्वर दार्चुला सडकखण्डको बढी दुर्घटना हुनसक्ने १०.३३ किलोमिटर क्षेत्रमा स्टिलबार लगाइएको छ ।

-विनोदसिंह विष्ट/रासस

 

  • 41Read This News:
  • 417681Total reads:
  • 230436Total visitors: