नागासाकीमा बम आक्रमणको ७२ बर्ष स्मरण

जापान, २५ साउन २०७४। सन् १९४५ मा जापानको नागासाकीमा अमेरिकाले एटम बम खसाली दशौँ हजार नागरिकको ज्यान लिएको आज ७२ बर्ष पुगेको दुःखद स्मरण गरिएको छ ।

जापानको नागासाकीमा सन् १९४५ को अगष्ट ९ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको बुधबार सो नगरमा विशेष समारोहको आयोजना गरी स्मरण गरिएको समाचारमा जनाइएको छ ।

यसअघि गत आइतबार अर्थात् अगष्ट ६ मा हिरोसीमा नगरमा पनि जम्मा भएका दशौँ हजारको सङ्ख्याका नागरिकले सो आक्रमणको स्मरणगर्दै त्यस नरसंहारमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

दोस्रो विश्व युद्धका समयमा अमेरिकाबाट हिरोसिमामा भएको त्यस हमलामा परी कम्तीमा पनि १ लाख ४० हजार नागरिकको ज्यान गएको थियो । त्यस्तै नागासाकीमा भएको बम आक्रमणमा परी ज्यान जानेको सङ्ख्या ७५ हजार रहेको बताइएको छ ।

एटम बमको विकीरणका कारण घटनास्थलमा नै ती नागरिकको ज्यान गएको थियो भने अरु कैयौँ घाइते भएर बाँचेका थिए । उनीहरुले निकै पछिसम्म पनि स्वास्थ्य र शारीरिक जटिलताको समस्या झेलेर बसेका थिए ।

नागासाकी र हिरोसिमामा भएका ती बम हमलाको ७२ वर्ष पूरा भएको छ । नागासाकी नगरमा बम खसालिएको स्थानमा प्रत्येक वर्ष आजकै दिन दशौँ हजार नागरिक जम्मा हुन्छन् र शान्तिको कामना गर्ने गर्दछन् ।

हिरोसीमामा जस्तै नागासाकीमा पनि बम खसालिएको स्थानमा शान्ति स्तुपा निर्माण गरिएको छ । उक्त स्तुपामा जम्मा भएका नागरिकले संसारमा फेरि यस्तो कहिल्यै नहोस भनेर कामना गर्ने गर्दछन् ।

हिरोसिमा र नागासाकीमा भएको हमलामा जीवित रहेका केही नागरिक अहिले पनि छन् । उनीहरु पनि आजको उक्त वार्षिकी कार्यक्रममा उपस्थित भएर आफ्ना अनुभव व्यक्त गर्ने गर्छन् ।

सो वार्षिकीमा बुधबार नागासाकीमा दशौँ हजार नागरिक जम्मा भएका छन् । त्यहाँ संसारका अरु देशका प्रतिनिधि पनि जाने गर्दछन् ।

सो समारोहलाई बुधबार सम्बोधन गर्दै नागासाकी नगरका मेयर तोमिहिसा ताउले भन्नुभयो– बमरहित संसारको निर्माण जापानको मुख्य उद्देश्य हुनुपर्छ र त्यसका लागि हामी जेजस्तो संघर्ष पनि गर्नुपर्छ ।

परमाणु हतियारको उत्पादनमा निषेध गर्ने विश्वव्यापी नीतिमा जापानले अगुवाई गर्नुपर्ने उहाँको धारणा थियो । उहाँले शान्तिका लागि संसारले कामना गर्न सकेमात्र अब फेरि हिरोसिमा र नागासाकी जस्ता नरसंहार नदोहोरिने स्पष्ट गर्नुभएको समाचारमा जनाइएको छ ।

 

  • 66Read This News:
  • 417509Total reads:
  • 230265Total visitors: