हिउँदमा विद्युत्भार कटौतीहुनेछैन– ऊर्जामन्त्री शाही

काठमाडौँ, २४ साउन २०७४। ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले आगामी हिउँदमा पनि विद्युत्भार कटौतीको कुनै गुन्जायस नरहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “नेपालमा अब विद्युत्भार कटौती इतिहास भइसकेको छ । यसलाई कोही कसैले पनि फर्काउन सक्दैन । तर केही मान्छेहरु पुनः अध्याँरो युग फर्कियोस् भन्ने चाहना राख्छन् । सरकार उनीहरुको चाहना पूरा हुन दिने पक्षमा छैन ।”

यहाँ आज आयोजित पत्रकार भेटघाटमा ऊर्जामन्त्री शाहीले विद्युत् आयोजना बन्न नदिने, निरन्तर अवरोध गर्ने, प्रसारण लाइन निर्माणमा समस्या खडा गर्ने प्रवृत्ति कायम रहे समस्या भने आउन सक्ने उल्लेख गर्नुभयो ।

मन्त्री शाहीले आगामी हिउँदमा घरेलु उपभोक्तालाई मात्रै नभई औद्योगिक क्षेत्रमा समेत विद्युत्भार कटौती अन्त्यका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभयो ।

उहाँले ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ अभियान अगाडि बढाएको उल्लेख गर्नुभयो ।

नेपालको ऊर्जा क्षेत्रको विकासका लागि सरकारले आन्तरिक स्रोतबाट पनि लगानी गरिरहेको जानकारी दिँदै उहाँले ठूला र बहुउद्देश्यीय आयोजना निर्माणका लागि आन्तरिक स्रोतबाट उपलब्ध हुने पूँजी मात्रै पुग्दो नभएकाले वैदेशिक लगानी आवश्यक रहेकामा जोड दिनुभयो ।

फरक एक प्रसंगमा ऊर्जा मन्त्री शाहीले अघिल्लो सरकारको कार्यकालमा एक चिनियाँ कम्पनीसँग बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका सन्दर्भमा भएको सम्झौताका बारेमा आफूले अध्ययन गरिरहेको बताउनुभयो । “सम्झौता के भएको हो भन्नेबारेमा अध्ययन भइरहेको छ । सही सम्झौता भएको भए सरकारले त्यसलाई कार्यान्वयन गरेर जान्छ । गलत भएको भए त्यो खारेज हुन्छ ।”

उहाँले देश र जनताको हितबाहेक आफूसँग कुनै स्वार्थ नभएको र ऊर्जा क्षेत्रलाई अगाडि बढ्न नदिने माफिया प्रवृत्तिलाई अन्तय गर्न आफू दृढ रहेको बताउनुभयो । उहाँले दीर्घकालीन लक्ष्यका साथ १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना अगाडि बढाइने स्पष्ट पार्नुभयो ।

 

  • 35Read This News:
  • 480273Total reads:
  • 287755Total visitors: