नव प्रयास पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, २४ साउन २०७४। घरेलु टिम नव प्रयास युवा क्लबले ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा पथरी स्पोर्टिङ क्लब पथरीलाई शुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै नव प्रयासले सेमिफाइनमा प्रवेश गरेको हो ।

नवप्रयासको जितमा खेलको ५४ औँ मिनेटमा रमेश लिम्बूले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि ८३ औँ मिनेटमा निराजन गुरुङले एक गोल गरेका थिए । पथरीका तर्फबाट भने गोल हुन सकेन ।

बुधबार सशस्त्र प्रहरी बल दमक र गोर्खा स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा घरेलु दुई टिमसहित विभिन्न जिल्लाका गरी १० टिमको सहभागिता रहेको छ ।

साउन ३० गते सम्पन्न हुने उक्त प्रतियोगिताका विजेताले ट्रफीसहित रु २ लाख ११ हजार १११ र उपविजेताले रु १ लाख ११ हजार १११ प्राप्त गर्नेछ । लाखेंजात्राका अवसर पारेर २०२९ सालदेखि हरेक वर्ष यो प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

 

  • 18Read This News:
  • 417424Total reads:
  • 230180Total visitors: