कसैको केही लागेन हनुमन्ते खोला डेढ महिनामै अफनै वाटोमा फर्कियो

काठमाडौँ, १६ साउन २०७४ । भक्तपुरको हनुमन्ते खोलाको बहाव परिवर्तनको घटनाले १२ वर्षमा खोलो फर्कन्छ भन्ने नेपाली उखानको समय सीमामाथि नै प्रश्न चिह्न खडा गरेको छ ।

जग्गाका कारोबारमा संलग्न गिरोहले गएको जेठ २६ गते राति पाँच डोजर प्रयोग गरेर रातभरमा प्राकृतिक बहावभन्दा उत्तरतर्फ फर्काएको हनुमन्ते यही साउन १५ गतेको बाढीबाट डेढ महिना पुग्दा नपुग्दै आफैँ पुरानै धारमा फर्केको छ । साउन १४ गते भएको वर्षापछि आएको बाढीले नयाँ कायम गरिएको खोलाको बाँध भत्काएर पुरानै मार्ग समातेको हो । बाँध भत्किएपछि पुरानो र नयाँ दुवैतर्फबाट २४ घण्टाजति बराबर पानी बग्दै आएकामा आजदेखि भने पूर्णरुपमा खोला दक्षिणतर्फ सरेको छ ।

भक्तपुरका थिमि र बालकोटबीच भएर बग्ने हनुमन्ते खोलाको धार परिवर्तन गर्ने विषयमा दुवै पक्षबीच लामो समयदेखि पटक पटक विवाद हुँदै आएको थियो । त्यस क्षेत्रमा खोलाको धार परिवर्तन गर्ने विषयलाई भएको विवाद निरुपण गर्ने सिलसिलामा अदालतमा मुद्दा विचाराधीन रहेको बताइएको छ ।

पछिल्लो पटक जबर्जस्त रुपमा बालकोट क्षेत्रका केही व्यक्तिको अगुवाइमा हनुमन्ते फर्काइएपछि थिमि र बालकोटवासीबीच विवाद र झडपसमेत भएको थियो । अहिले पुरानो र नयाँ कायम गरिएको खोलाको बहावले जमिन कटान गरेपछि बीचको भाग टापुमा परिणत भएको छ । भक्तपुरको निकै लामो क्षेत्रमा हनुमन्तेले बेलाबखत आफँै पनि क्रमशः धार परिवर्तन गर्दै आएको स्थानीयवासीको भनाइ छ, जसबाट आवादी र भोगचलनमा केही विवाद उत्पन्न हुँदै आएको छ ।

खोलाको नयाँ धार कायम गर्ने पक्षले भने २०२१ सालको नापीअनुसार नै खोलाको बहाव परिवर्तन गरेको जिकिर गर्दै आएका छन् । अर्कातर्फ थिमिवासीले भने हनुमन्तेको बहाव परिवर्तनको समस्या थिमिमा मात्रै नभएर शिरदेखि दोभानसम्मको भएकाले यसका लागि एकैखाले निर्णयको आवश्यकता रहँदै आएको बताएका छन् ।

 

  • 71Read This News:
  • 460296Total reads:
  • 269755Total visitors: