अबका चुनावमा एमाले पहिलो बन्छः नेता खनाल

काठमाडौँ, १६ साउन २०७४। नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकको राष्ट्रिय अखण्डता र जनताको सार्वभौमताका लागि आफ्नो पार्टीले लिएको दूरदर्शीताका कारणले स्थानीय तह, प्रादेशिक र केन्द्रीय चुनावमा पहिलो स्थान कायम गर्ने बताउनुभएको छ ।

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेता खनालले समाजवादतर्फ उन्मुख संविधान निर्माण तथा संविधान कार्यान्वयनका क्रममा एमालेले देखाएको दृढताले गर्दा जनताले पार्टीको सही मूल्याङ्कन गर्ने बताउनुभयो ।

जनताको लामो संघर्षपछि मुलुकमा प्राप्त भएको लोकतन्त्र र संविधानसभाबाट बनेको संविधान अग्रगामी रहेको बताउँदै उहाँले मुलुकमा कानुनी राज्य र विधिको शासन कायम गर्न प्रगतिशील कानुन व्यवसायीले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री खनालले ऋषिमुनीको तपोभूमि र शान्ति भूमि नेपाल विश्व संस्कृतिको उद्भवस्थल रहेको बताउँदै हाम्रा प्राचीन मूल्य मान्यता तथा सांस्कृतिक धरोहरको संरक्षण गर्नुपर्ने औँल्याउनुभयो ।

एमाले पोलिटब्युरो सदस्य रघुजी पन्तले नेपाली संस्कृतिमा रहेका विभिन्न परम्पराले प्रकृतिसँग हाम्रो सम्बन्धलाई आत्मसात् गर्न विशेष महत्व राखेको बताउनुभयो ।

आयोजक संस्थाका अध्यक्ष रुद्र नेपालले पेशागत कानुन व्यवसायीको हक हित तथा अधिकारलाई संरक्षण गर्न आफ्नो संस्था क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

 

  • 54Read This News:
  • 475212Total reads:
  • 283380Total visitors: