रामकुमार पाँडेको हाइकु ‘फ्लोडेड गर्ज विमोचन

काठमाडौँ, १ साउन २०७४ । साहित्यकार रामकुमार पाँडेद्वारा अंगे्रजी भाषामा लेखिएको ‘फ्लोडेड गर्ज’ (बाढीयुक्त खोंच) नामक हाइकु कृति शुक्रबार विमोचन गरिएको छ ।

साहित्यकार मञ्जु काँचुली र तोया गुरुङले हाइकुको विमोचन गर्दै आफूहरु पनि हाइकुमा आकर्षित भएको बताउनुभयो । नेपालका प्रकृति र संस्कृतिका बारेमा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान गराउनका लागि अंग्रेजी भाषामा हाइकु लेखिएको लेखक पाँडेले जानकारी गराउनुभयो ।

सो अवसरमा रमेश खनाल, बमबहादुर थापा जिताली, श्रीहरि फुयाँल, प्रमोद प्रधान, सुषमा मानन्धर, मित्रबन्धु पौडेललगायतले आआफ्ना हाइकु वाचन गर्नुभएको थियो ।

प्याराडाइज पब्लिकेशनद्वारा प्रकाशित कृतिमा नेपालमा हाइकुको इतिहाससहित पाँडेका ५ सय ७१ मौलिक हाइकु तथा शंकर लामिछाने, क्षेत्रप्रताप अधिकरी, माधवलाल कर्माचार्य, शशि भण्डारी, विष्णुबहादुर सिंह, अञ्जना पौडेललगायत ५० हाइजिनले लेखेका हाइकुको अंग्रेजीमा अनुवाद पनि प्रस्तुत गरिएको छ । त्यस्तै विश्वका करिब ५० नमुना हाइकु र विदेशमा रहेका नेपाली हाइजिनका हाइकुलाई पनि अनुवाद गरी उक्त कृतिमा राखिएको बताइएको छ ।

यसअघि उहाँको रेड क्विन (राती रानी) शीर्षक हाइकु प्रकाशन भएको थियो । जापानी शैलीको छोटो कविता हाइकुमा ३ हरफमा सत्र अक्षर (५–७–५) हुन्छन् जसमा प्रकृति, संस्कृति र मौसमका विम्ब रहन्छन् ।

 

  • 34Read This News:
  • 459765Total reads:
  • 269261Total visitors: