बङ्गलादेश, १८ असार २०७४। बङ्लादेशमा २० जनाको ज्यान लिने गरी इश्लामिक स्टेट समूह (आइएस)द्वारा भएको आतङ्कवादी आक्रमणको बर्ष दिन पुगेको सन्दर्भ स्मरण गर्दै शनिबार बङ्लादेशको राजधानी ढाकामा एकसभाको आयोजना गरी सम्पूर्ण मृतकप्रति सम्मान व्यक्त गरिएको छ ।
सन् २०१६ को जुलाई १ मा भएको आक्रमणको एक बर्ष भएको दिनलाई बङ्लादेशले एक कालो दिनको रूपमा स्मरण गर्दैे आतङ्कवादी आक्रमणका विरुद्ध एक भएर सङ्घर्ष गर्ने सभामा सहभागी सरकारी अधिकारी, पिडित परिवार तथा मानव अधिकारवादी सङ्घसंस्थाका प्रतिनिधिले प्रतिवद्धता जनाए ।
कार्यक्रममा विभिन्न देशबाट बङ्लादेशमा कार्यरत विदेशी प्रतिनिधि, सरकारी अधिकारी, पिडित परिवार तथा मानव अधिकारवादी सङ्घसंस्थाका प्रतिनिधिले गत बर्ष आतङ्कवादी हमला भएको ‘होलेरी आर्टिसन बेकरी’मा पुगी उक्त कालो दिनको स्मरण गर्दै आतङ्कवाद विरुद्ध लड्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
उक्त घटनामा ५ जनाको सङ्ख्यामा रेष्टुरेन्टमा प्रवेश गरेका आक्रमणकारीले १७ जना विदेशीसहित जम्मा २० जनालाई नियन्त्रणमा लिई हत्या गरेका थिए ।
शनिबार मृतकका केही आफन्तले मारिएका आफ्ना सदस्यलाई सम्झदै भक्कानिएका थिए भने कतिपयले निर्दयी आतङ्कवादी सञ्जाललाई ध्वस्त पार्ने प्रतिवद्धता जनाए ।
आक्रमणपछि बङ्लादेशले विभिन्न आतङ्कवादी समूहमा आवद्ध सम्दिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको छ भने कतिपयको सुरक्षा कारवाहीमा मृत्यु भएको छ ।


