सोलुखुम्बुको ५ वटा मतदान केन्द्रमा कसैलेपनि मतदान गरेन

सोलुखुम्बु, १५ असार २०७४ । जिल्लाको नेचासल्यान गाउँपालिका–६ तिङ्लामा बुधवार शून्य मतदान भएको छ ।

स्थानीय तह पुनःसरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरुले विरोध स्वरुप मतदान गरेका छैनन् ।

नेचासल्यान–६ तिङ्लाका ५ वटै मतदान केन्द्रमा खटिएका कर्मचारीले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतपेटिका राखेर मतदान प्रक्रिया अगाडी बढाए पनि सो समयभित्र मतदानका लागि केन्द्रमा कोही पनि नआएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो ।

नेचासल्यान गाउँपालिका–६ तिङ्लामा २ हजार ४७६ मतदाता रहेका छन् । सो वडामा कसैले पनि उम्मेदवारी दिनुभएको छैन् । सोलु दूधकुण्ड नगरपालिकाको सट्टा नेचासल्यान गाउँपालिकामा तिङ्लालाई समावेश गरेपछि स्थानीयले यसको विरोध गर्दै आएको सङ्घर्ष समितिका अध्यक्ष बालकुमार कार्कीले जानकारी दिनुभयो ।

स्थानीय सरोज बस्नेतले भोट दिन नपाउँदा नरामाइलो लागे पनि त्यो आफूहरुको बाध्यता भएको बताउनुभयो ।

 

  • 91Read This News:
  • 438536Total reads:
  • 250530Total visitors: