रु तीन करोडको लगानीमा बहुउद्देश्यीय होटल संचालनमा

कास्की, १२ असार २०७४। पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ विरौटामा रु ३ करोडको लगानीमा भोजन, आवास, सङ्गीतका साथै टुर्स एण्ड ट्राभल्स र फ्रेस हाउसको सुविधा एकै स्थानबाट दिने गरी होटल रिदम एण्ड अर्गानिक रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

होटल तथा रेष्टुरेन्ट सञ्चालनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्देशक दीपक पौडेल शर्माले आर्थिकरुपमा स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ आफूले होटलमा लगानी गरेको बताउनुभयो ।

“तत्कालका लागि रिदम फ्रेस हाउस, प्रतिभा टुर्स एण्ड ट्राभल्स, सुविधायुक्त लज र सभाहल सञ्चालनमा ल्याइएको छ,” उहाँले भन्नुभयो, “केही दिनमा नै दोहोरी साँझ सञ्चालनमा ल्याउने तयारी गरेका छौँ ।”

रेष्टुरेन्टमा आफ्नै फ्रेस हाउस भएकाले अतिथिलाई लोकल मासु खुवाउन सकिने बताउँदै उहाँले पर्वतको कार्कीनेटासहित कास्कीको भरतपोखरी, कृष्टिलगायत ठाउँबाट प्राङ्गारिक फलफूल तथा तरकारी ल्याएर खुवाइने बताउनुभयो ।

होटलमा १५० जना क्षमताको सभाहल र २५ जना क्षमताको विशिष्ट बैठक कक्षसमेत रहेको छ । त्यस्तै, होटलमा छ डिलक्ससहित ७वटा कोठा रहेकाछन् । एउटा कोठाको न्यूनतम रु ८०० देखि २ हजारसम्म शुल्क निर्धारण गरिएको अध्यक्ष करिष्मा बरालले जानकारी दिनुभयो ।

२८ जनालाई रोजगारी प्रदान गरिने होटल तथा रेष्टुरेन्टमा साँझमा मनोरञ्जन र जमघटका लागि रिदम दोहोरी एवम् मेलोडी साँझ समेत केहिदिन भित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

  • 122Read This News:
  • 480319Total reads:
  • 287800Total visitors: