धनकुटा, ११ असार २०७४ । स्थानीय तहको चुनावमा अपाङ्गता भएकाहरुका लागि सहज मतदान गर्न जिल्लाका ६७ अपाङ्गमैत्री मतदान केन्द्र स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
धनकुटा जिल्लाका कुल १४३ वटा मतदान केन्द्रमा ६७ केन्द्र अपाङ्गमैत्री बनाइएको छ । जिल्लामा तोकिएका अधिकांश मतदानकेन्द्र विद्यालय र पुराना गाविसका भवनमा रहेका कारण कठिनाइ भएको जनाइएको छ ।
३ नगरपालिकासहित ७ स्थानीय तह रहेको जिल्लामा ११७ मतदानस्थलमा १४३ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय, धनकुटाले जानकारी दिएको छ ।
जिल्लाको कुल ९५ हजार ३६७ जना मतदातामध्ये १७३ जना अपाङ्गता भएका मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा रहेको छ । अपाङ्गता भएकै कारण धेरै मतदाताले वञ्चित हुनुपरेको गुनासो आएपछि अपाङ्गमैत्री केन्द्र बढाउने क्रममा रहेको जिल्ला निर्वाचन कार्यालय, धनकुटाका प्रमुख प्रदीप साहले बताउनुभयो ।


