इदको पूर्वसन्ध्यामा करिब ७ सय सिरियाली कैदीको रिहा

सिरिया, ११ असार २०७४। सिरियाली सरकारले राष्ट्रपति बसर अल असदविरुद्धको विद्रोहमा सघाएका केही लडाकुसहित अन्य कैदीबन्दीलाई मुस्लिम धार्मिक पर्व इद उल फित्रका अवसरमा ६७२ जनालाई कैद मिनाह गर्दै रिहा गरिएको छ ।

सिरियाली न्यायमन्त्री हिसाम अलसारले सरकारले इदको पूर्वसन्ध्यामा कैदमा परेपछि असामान्य व्यवहार नदेखाएका र आफूले राज्यको विरुद्ध कुनै गतिविधिमा नलाग्ने प्रतिबद्धतासहित जेल मिनाहका लागि अनुरोध गरेका ६७२ जनालाई शनिबार रिहा गरेको पुष्टि गर्नुभयो ।

सिरियाली अधिकारीले मुलुकमा मनाइने मुख्य पर्वका अवसरमा कैदीलाई बाँकी जेल सजाय मिनाह गर्दै रिहा गर्ने प्रचलन छ ।

सिरियामा सन् २०११ को मार्चदेखि सुरु भएको द्वन्द्वका कारण लाखौँ नागरिकको मृत्यु भएको छ भने झन्डै आधा जनसङ्ख्या विस्थापित बनेको छ ।

शनिबार दमास्कसबाट रिहा भएकामध्ये विद्रोही लडाकुलाई आर्थिक सहयोग गर्दै आएको अभियोगमा जेल परेका ४५ वर्षीय अब्दुल अल रहमानसमेत रहेका छन् ।

रहमान जेलबाट छुटेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भन्नुभयो – “हरेक व्यक्तिले गल्ती गर्न सक्छ । विगतमा मैले गल्ती गरेकोमा पश्चाताप गर्दै आगामी दिनमा जन्मभूमिको विकासका लागि प्रतिबद्ध रहेनेछु ।”

 

  • 104Read This News:
  • 481277Total reads:
  • 288664Total visitors: