मोरङमा छ महिनाको अवधिमा बत्तीसवटा बलात्कारका घटना

मोरंग, ८ असार २०७४। सन् २०१७ को ६ महिनाको अवधिमा मोरङमा ३२ वटा बलात्कारका घटना भएका छन र ८ वटा बलात्कारको प्रयास गरिएको छ ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक) विराटनगरद्वारा बुधबार सन् २०१७ का घटनालाई समेटेर नेपाल मानवअधिकार वर्ष पुस्तक–२०१८ प्रकाशन गर्ने क्रममा प्राप्त सुझावलाई समेटने उद्देश्यले आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो ।

मोरङमा एक १४ वर्षीया बालिकासँग सामूहिक बलात्कारसमेत भएको र यसका साथै ६ महिनाको अवधिमा २६ बालिका र ६ महिला बलात्कार भएको सो संस्थाकी मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईले जानकारी गराउनुभयो ।

यसका साथै, मोरङमा ४ हत्या, ५ बहुविवाह, मानव बेचविखन १ र घरेलु हिंसा १८ वटा घटना भएको सर्वजनिक गरेकोछ ।

सम्बन्धविच्छेदका कारण बालबालिकामाथि पर्ने मानसिक तनाव, वैदेशिक रोजगारमा गएका पुरुषले पठाएका नगद सम्पत्तिसहित श्रीमतीले अर्केसँग विवाह गर्दा सम्पत्तिसमेत गुम्नेजस्ता घटनाले गर्दा पुरुष पनि पीडित हुने गरेकाले यस्ता घटनालाई पनि मानवअधिकार पुस्तक वर्षमा समेट्नुपर्ने सहभागीले सुझाव दिनुभएको थियो ।

सो अवसरमा इन्सेकका पूर्वाञ्चल संयोजक सोमराज थापा, सामाजिक अभियन्ता मणि अर्याल, गैसस महासङ्घका केन्द्रीय सदस्य त्रिलोक न्यौपाने, मानव अधिकारवादी वासु अधिकारी र पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष कुमोद अधिकारीलगायतले मानवअधिकारका घटनाका दायरा बढ्दै गएकाले सबै पक्षलाई समेट्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

 

  • 93Read This News:
  • 480475Total reads:
  • 287950Total visitors: