यो दशैँमा मेलम्चीको पानी काठमाण्डौवासीले पिउन नपाउने

काठमाडौँ, ७ असार २०७४। तीन हजार मिटर सुरुङ खन्न अझै बाँकी रहेकोले काठमाण्डौवासीले यो दशैँमा मेलम्चिको पानी पिउन नपाउन कठिनछ । हाल दैनिक ११ मिटर सुरुङ भन्दा बढी खन्न सकिएको छैन । यही गतिमा सुरुङ खन्दा नौ महिनायता कुनै प्रगति नहुने देखिन्छ ।

झन्डै तीन दशकदेखिको मेलम्ची सपना अझै पनि यथार्थमा अनुवाद हुने छाँट नदेखिएकोमा नेपाल सरकारमात्र होइन त्यसको मुख्य लगानीकर्ता एडिबी पनि उत्तिकै चिन्तित भएको छ ।

आफ्नो प्रतिष्ठासँग गाँसिएको यस परियोजनालाई हरतरहले आउँदो दसैँमा नै सम्पन्न गर्नुपर्छ भन्नेमा एडिबी मुख्यालयका उच्च अधिकारी छन् तर कार्यस्थलमा भनेजस्तो कार्यप्रगति भएको छैन । परियोजनासँग सम्बन्धित ‘हेड वक्र्स’ लगायत अन्य काम पनि अधूरै छन् ।

नेपालमा एडिबीका देशीय निर्देशकको पद रिक्त रहेको दुई महिना पूरा हुन लागेको छ । नेतृत्वविहीन ‘नेपाल मिसन’लाई मेलम्चीमात्र होइन एडिबीको सहायतामा सञ्चालित अन्य ठूला आयोजनाको हबिगत पनि त्यस्तै छ । प्रायः सबै आयोजना अलपत्र छन् ।

नेपाल सरकारका वरिष्ठ अधिकारी, एडिबीको सहायतामा देशका विभिन्न भागमा सञ्चालित विकास परियोजनामा सम्बद्ध कर्मचारी एवम् ठेकेदार तथा एडिबीका केन्द्रीय एवम् स्थानीय पदाधिकारीसँग अर्थ मन्त्रालय र एडिबीले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको त्रिपक्षीय समीक्षा बैठमा अर्थसचिव शान्तराज सुवेदीले “दैनिक ११ मिटर सुरुङ खनेर दसैँमा मेलम्चीको पानी काठमाडौँ आइपुग्छ ?” भन्ने जिज्ञासा राखेपछि नायव महानिर्देशक शरणले सामूहिक प्रण र प्रतिबद्धतामा जोड दिनुभएको हो ।

बुटवल–नारायणगढ सडक, दक्षिण एसिया पर्यटन पूर्वाधार विकासलगायत परियोजनाले लक्षित प्रतिफल नदिएकामा असन्तुष्ट सचिव सुवेदी समयमै सबै समस्या समाधान गर्न सुझाउनुहुन्छ ।

एडिबीले नेपालमा ३२ वटा परियोजनामा दुई अर्ब अमेरिकी डलर लगानी गरेको छ । उक्त बैंकले २५ वटा परियोजनामा ऋण सहयोग र १९ वटालाई अनुदान प्रदान गरेको छ । त्यसैगरी ३ करोड ५० लाख अमेरिकी डलरको लगानीमा २२ वटा प्राविधिक सहायता परियोजना जारी छन् ।

 

  • 95Read This News:
  • 481326Total reads:
  • 288712Total visitors: