भक्तपुरमा ५ परिवारकोलागि ५० हजारको स्वास्थ्य बिमा कार्यक्रम सुरु

भक्तपुर, ६ असार २०७४ । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम यहाँ पनि सुरू भएको छ ।

बिमा कार्यक्रममा ५ जनाको परिवारले वार्षिक रू २ हजार ५०० बिमा शुल्क भुक्तानी गरेपछि रू ५० हजारसम्मको उपचार सेवा पाउने गरी कार्यक्रम सुरु भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले जानकारी दिनुभयो ।

५ भन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति रू ४२५ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको रू १० हजार उपचार सेवा थपिने व्यवस्था गरिएको छ । ५ जनासम्मका लागि रू ५० हजार अनिवार्य तथा कार्यक्रमको अधिकतम सीमा रू १ लाख निर्धारण गरिएको छ । सरकारले निःशुल्क तोकेका औषधोपचार सेवा भने यसमा समावेश नहुने उहाँले जानकारी दिनुभयो । स्वास्थ्य बिमा गर्नेले हाललाई भक्तपुरका छ स्वास्थ्य संस्थाबाट सेवा पाउने व्यवस्था गरिएको छ ।

बिमा गर्नेले भक्तपुर अस्पताल, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र, मध्यपुरथिमि नगरपालिकाको व्यवस्थापनमा सञ्चालित नेपाल कोरिया मैत्री अस्पताल, चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र र सूर्यविनायक नगरपालिकास्थित दधिकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य बिमा गरेकाहरुले उपचार सेवा पाउनेछन् ।

आव २०७२/७३ मा कैलाली, बागलुङ र इलामबाट सुरू भएको स्वास्थ्य बिमा कार्यक्रम अब भक्तपुरसँंगै चितवन, जुम्ला र तनहुँमा सञ्चालनमा आएको छ । यही असारदेखि जाजरकोट, मकवानपुर र गोरखामा पनि कार्यक्रम सुरू गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

 

  • 74Read This News:
  • 459745Total reads:
  • 269245Total visitors: