झापामा कागतीको व्यावसायिक खेती

झापा, २४ जेठ २०७४। बहुउपयोगी कागतीको व्यवसायिक खेतीले झापाका कृषक एवम् उपभोक्ता दुवैै लाभान्वित भएका छन् ।

जिल्लाका विभिन्न ठाउँमा यसको व्यावसायिक खेती सुरु भएको छ । कागतीको नियमित सेवनले मानिसको स्वास्थ्यमा मद्दत पुग्छ । यसको महत्व र बजार बढ्दै गएका कारण कागतीको व्यावसायिक खेती बढ्दै गएको हो ।

आर्थिक वर्ष २०७०/७१ मा ४५ हेक्टर, आव २०७१/७२ मा ५५ हेक्टर, आव २०७२/७३ मा ७० हेक्टरमा तथा आव २०७३/७४ मा करिब १०० हेक्टर जग्गामा कागतीखेती गरिएको जिल्ला कृषि विकास कार्यालयका बागबानी शाखाका कर्मचारी बुल्लुराम राजवंशीले जानकारी दिनुभयो ।

पछिल्लो समय सर्वसाधारणले आ–आफ्ना घरमा कागतीको बोट लगाउने गरेका छन् । स्थानीय बहुउद्देश्य सहकारी संस्था चन्द्रगढीले गत वर्ष १ हजार ५०० तथा यस वर्ष पनि सोही परिमाणमा कागतीको बोट आफ्ना सेयर सदस्यलाई रु १५० का दरले बिक्री गरेको छ ।

वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीका अनुसार व्यावासायिक रुपमा कागतीखेती गर्ने कृषकलाई कार्यालयले थोपा सिँचाइ योजनाअन्तर्गत रु १ लाखसम्म अनुदान दिने गरेको बताउनुभयो । सो अनुदान जिल्लामा यस वर्ष २ जनालाई प्रदान गरिएको छ ।

गौरादह नगरपालिका– १ स्थित पूर्वेली पाथिभरा कृषि सहकारीले स्थानीय ध्रुव दाहालको २ बिगाहा ९ कठ्ठा जग्गा बर्सेनि रु ६० हजार भाडा तिरेर कागतीखेती सुरु गरेको छ । ३ वर्षमा लगभग रु १७ लाख खर्च भइसकेको सञ्चालक खुमनाथ निरौला बताउनुहुन्छ । उहाँले कृषि कार्यालयबाट थोपा सिँचाइ योजना अन्तर्गत रु १ लाख अनुदान पाउनुभएको छ ।

 

  • 88Read This News:
  • 480664Total reads:
  • 288125Total visitors: