लोट्टेको ड्युटि–फ्रि शप शाखा अब भियतनाम विमानस्थलमा पनि

दक्षिण कोरिया, १९ जेठ २०७४। दक्षिण कोरियाको प्रसिद्ध ब्यापारिक प्रतिष्ठान लोट्टे ड्युटि फ्रिले आफ्नो एउटा शाखा भियतनाम विमानस्थलसम्म बिस्तार गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलहरुमा करमुक्त पसल सञ्चालन गर्नका लागि नाम चलेको दक्षिण कोरियाली कम्पनी लोट्टे ड्युटि फ्रिले दक्षिणपूर्वी एसियामा बजार बिस्तार गर्ने योजना अन्तर्गत अर्को एउटा भियतनामी कम्पनी फू कान् ड्युटि फ्रिसँग मिली संयुक्त साझेदारीमा भियतनामको दा–नाङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा बिक्री शाखा (आउट्लेट) खोल्ने सम्झौता गरिएको बिहीबार प्रकाशित एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दा–नाङ्ग अन्तर्राष्ट्रिय विमानस्थलको लोट्टे ड्युटि फ्रि शपको औपचारिक उद्घाटन र सबै स्टलबाट बिक्री वितरण कार्य आगामी अगस्ट महिनादेखि शुरु गरिने भए तापनि हाल आंशिक रुपमा एउटा स्टल सञ्चालनमा ल्याइएको जनाइएको छ ।
साझेदारीमै भए पनि भियतनाम विमानस्थलमा ड्युटि फ्रि पसल सञ्चालन गर्ने लोट्टे पहिलो कोरियाली कम्पनी हो तथा यस नयाँ ब्यापारमा लगाइने कूल आर्थिक लगानीमा लोट्टेको साठी प्रतिशत अंश रहेको छ ।

भियतनामको दा–नाङ्ग नगर बिदा मनाउन जाने दक्षिण कोरियालीहरुको एक लोकप्रिय र प्रमुख गन्तब्य पनि हो ।
ठूलो लगानी भएका बिश्वका प्रमुख ड्युटि फ्रि शप सन्चालकहरुको सूचीको अग्र–पङ्क्तिमा लोट्टे ड्युटि फ्रि शपले तेश्रो स्थान ओगटेको छ । यस्ता ठूला ब्यापारिक प्रतिष्ठानहरुमा स्वीट्जरल्यान्डमा मुख्यालय रहेको ड्यूफ्रि एजि प्रथम श्रेणीमा र दोश्रो श्रेणीमा संयुक्त राज्य अमेरिकाको डिएफएसको लगत्तै पछि लोट्टे ड्युटि फ्रिको नाम लिइन्छ ।

निकट भविष्यमै थाईल्यान्डको राजधानी बैंककमा पनि यस्तै अर्को ड्युटि–फ्रि शप शाखा खोल्ने योजना रहेको लोट्टेले जनाएको छ । वर्तमानमा इन्डोनेसिया, जापान तथा गुआम्मा लोट्टेले ड्युटि–फ्रि बिक्री केन्द्रहरु सञ्चालनमा ल्याइ रहेको छ ।

 

  • 122Read This News:
  • 480339Total reads:
  • 287820Total visitors: