आँखाको लेन्स उत्पादन क्षमता वृद्धिका लागि रु १० करोड अनुदान महावीर पुनलाई पजि आर्थिक सहयोग

काठमाडौँ, १८ जेठ २०७४ । उद्योग मन्त्रालयले नेपाल आँखा केन्द्रको क्षमता वृद्धि गर्नका लागि रु १० करोड अनुदान सहयोग गर्ने भएको छ ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयको सहयोगमा उत्पादित आँखाको लेन्स विदेशमा समेत बिक्री गर्ने उद्देश्यका साथ यसको क्षमता वृद्धि गर्न अनुदान दिन लागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा उत्पादन हुने लेन्स विश्वकै गुणस्तरीय लेन्स हो, हाल १७ देशमा निर्यात हुँदै आएको छ, यसको विस्तार गरेर ५० भन्दाबढी देशमा बिक्री गर्नु हाम्रो उद्देश्य हो ।”

यस्तै सरकारले म्यागासेसे पुरस्कार विजेता डा महावीर पुनले निर्माण गर्न लागेको राष्ट्रिय आविस्कार केन्द्रलाई रु १ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउन लागेको छ । मन्त्री जोशीले डा पुनले स्थापना गर्न लागेको केन्द्रले नेपालमा अनुसन्धान र विकासको संस्कृति स्थापना गरी समाजको तल्लोदेखि माथिल्लो तहसम्म आविस्कार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री जोशीले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षण गर्नका लागि सरकारले औद्योगिक विकास कोष स्थापना गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले कम लगानी गरेर गैरआवासीय नेपालीलाई लगानी गर्ने वातावरण मिलाउन कोष स्थापना गर्न लागेका हौँ ।”

उक्त कोषले औद्योगिक प्रवद्र्धन तथा उद्यमशीलताका माध्यमबाट रोजगार सिर्जना गर्ने, औद्योगिक प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने, समतामूलक दिगो आर्थिक विकास हासिल गर्ने र औद्योगिक विकासको निमित्त आवश्यक पर्ने लगानी परिचालन गर्न थप मद्दत पुग्ने मन्त्री जोशीले बताउनुभयो ।

यसैगरी लामो समयदेखि बन्द रहेको नेपाल औषधि लिमिटेड सञ्चालनमा आएर जीवनजल उत्पादन गरिसकेकाले उक्त जीवनजल झाडापखालाको उच्च जोखिमका क्षेत्र मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चलमा पठाउने गरी काम गरिसकिएको मन्त्रालयले जनाएको छ ।

 

  • 101Read This News:
  • 459202Total reads:
  • 268733Total visitors: