बन्द उद्योग खुलेका कारण क्षमतामा वृद्धि

काठमाडौँ, १४ जेठ २०७४ । उद्योग मन्त्रालयले चालु आर्थिक वर्षमा उद्योगको कुल उत्पादन क्षमतामा वृद्धि भएको जनाएको छ ।

मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगन्त्री नवीन्द्रराज जोशीले नयाँ ऐन, संस्थागत सुधार र बन्द उद्योग खुलेका कारण क्षमतामा वृद्धि आएको बताउनुभयो ।

उहाँले गत आ.व.मा ३९.५ प्रतिशत उत्पादन क्षमता रहेको उद्योगमा चालु आवमा ५४.२४ प्रतिशत पुगेको बताउनुभयो । निजी क्षेत्रको सहभागितालाई उच्च प्राथमिकता दिँदै आएको मन्त्रालयले हरेक क्रियाकलापमा निजी क्षेत्रको सहभागितालाई व्यापक बनाउँदै लगेकाले कुल उत्पादनमा वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री जोशीले आफ्नो ९ महिने कार्यकालमा उद्योग प्रशासनमा सुधार, उद्यमशीलताको प्रवद्र्धन, लगानीमैत्री वातावरण सिर्जना, सरकारी उद्योगको व्यवस्थापन, नेपाल औषधि लिमिटेडको पुनःसञ्चालन गरिएको बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरी रु १४ खर्बको प्रतिबद्धता जुटाएको, आगामी १० वर्षभित्र युवालाई रोजगार दिने, लगानीलाई व्यवस्थित गर्न समिति निर्माण कार्यलाई अगाडि बढाइएको बताउनुभयो ।

यस्तै खानी तथा खनिजजन्य वस्तुको अन्वेषण तथा विकास, औद्योगिक क्षेत्रको विकासका निमित्त विशेष आर्थिक ऐन जारी, भैरहवा विशेष आर्थिक क्षेत्रभित्र १९ उद्योग स्थापना गर्न लगानीकर्तासँग हस्ताक्षर, सिमरामा गार्मेन्ट प्रोसेसिङ क्षेत्र निर्माण कार्य थालनी, ‘एक प्रदेश एक सेज’ निर्माण कार्यको थालनी, निर्यात प्रवद्र्धन बोर्ड स्थापना गर्ने कार्य अगाडि बढाएको छ ।

मन्त्रालयले विभिन्न जिल्लामा खानीको अध्ययन तथा सर्वेक्षण, मुस्ताङको बेनीमा जियोटुरिजमसम्बन्धी अध्ययन अगाडि बढाएको, सार्वजनिक संस्थान व्यवस्थापन, हेटौँडा कपडा उद्योगको पुनःसञ्चालनका लागि सम्भाव्य अध्ययन, हेटौँडा सिमेन्ट उद्योगको स्तरोन्नतिका लागि सम्भाव्य अध्ययन, उदयपुर र हेटौँडा सिमेन्ट उद्योगलाई व्यावसायिक बनाउँदै लगिएको, अल्लो प्रशोधनका लागि ११ जिल्लामा मेसिन प्रदान गरेको छ ।

यसैगरी लघु, घरेलु तथा साना उद्योग विकास र प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेलेको, ट्याक्सी मिटरमा इलेक्ट्रोनिक बिल सिस्टम जडान, ३७ वस्तुको नेपाल गुणस्तर चिह्न इजाजतपत्र प्रदान, १६७ उद्योगको अनुगमन र निरीक्षण गरेको छ ।

यस्तै कृत्रिम लेन्स निर्माण, गैरआवासीय नेपालीसँग स्वदेशमा लगानी गर्न आग्रह, विभिन्न देशसँग उद्योगको विकास र विस्तारमा छलफल गरिएको समेत मन्त्री जोशीले जानकारी दिनुभयो ।

उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले अहिले लिएका सुधारका कार्यक्रमलाई निरन्तरता दिँदै उपलब्धि हासिल गर्नुका साथै थप उपलब्धि हासिल गर्न मन्त्रालय लाग्ने बताउनुभयो ।

 

  • 49Read This News:
  • 481295Total reads:
  • 288682Total visitors: