काठमाडौँ, १४ जेठ २०७४ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या चालु आर्थिक वर्षमा घट्दै गएको छ ।
अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आव २०७३/७४को आर्थिक सर्वेक्षणअनुसार अघिल्लो वर्षको तुलनमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्दै गएको उल्लेख छ । चालु आवको प्रथम ८ महिनामा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या १ लाख ८६ हजार १६६ रहेको छ । जसमध्ये पुरुष १ लाख ७६ हजार ८३१ जना र महिला ९ हजार ३३५ रहेको छ ।
सबैभन्दा बढी कतारमा ६२ हजार २६९, साउदी अरबमा ४३ हजार १८३, मलेसियामा ३८ हजार ४६४, युनाइटेड अरब इमिरेट्स (युएई)मा २६ हजार २५१, कुवेतमा ५ हजार ६४८ जना र बाँकी अन्य देश रहेका छन् ।
आव २०६३/६४ देखि आव २०७२/७३ सम्ममा ३६ लाख १९ हजार ९८१ वैदेशिक रोजगारीमा गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । वैदेशिक रोजगारीमा जानेमध्ये १.५ प्रतिशत दक्ष, २३ प्रतिशत अर्धदक्ष र ७५.५ प्रतिशत अदक्ष कामदार रहेका छन् ।
गत आवमा २.९ प्रतिशतभन्दा कम रोजगारी वृद्धिदर रहेकामा यो चालु आवमा रोजगारी वृद्धिदर थोरै बढेर तीन प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको छ ।
चालु आवको पहिलो ८ महिनामा ३१५ जना नेपालीको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३०८ पुरुष र ७ महिला मृतक कामदारका परिवारलाई आर्थिक सहायता रकम रु ९ करोड ४० लाख १५ हजार वितरण गरियो ।
आव २०६५/६६ देखि २०७२/७३ सम्म ५ हजार ३२८ पुरुष र ११६ महिला गरी जम्म ५ हजार ४४४ जनाको वैदेशिक रोजगारकिो क्रममा मृत्यु भएको छ । यसरी मृत्यु भएका परिवारलाई बोर्डले रु ९२ करोड ५६ लाख ६९ हजार उपलब्ध गराएको छ ।


