आठ महिनामा कृषिमा उत्साहजनक उपलब्धि

काभ्रेपलाञ्चोक बनेपा नगरपालिकाको नालामा यो वर्षको रोपाइँ सुरु हुँदै ।

काठमाडौँ, १४ जेठ २०७४। आर्थिक वर्ष २०७३÷७४ को ८ महिनामा कृषि उत्पादनमा उत्साहजनक उपलब्धि देखिएको छ ।

व्यवस्थापिका–संसद्मा आज पेस भएको आर्थिक सर्वेक्षण २०७३÷७४ मा कृषि क्षेत्रको उत्पादन ५.२९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत आवको सोही अवधिमा कृषि क्षेत्रको उत्पादन शून्य दशमलव शून्य ३ प्रतिशत थियो ।

अनुकूल मौसम, रासायनिक मल, कृषि औजारको सहज उपलब्धताका कारण खाद्यान्न उत्पादन बढेको हो । चालु आवमा कुल खाद्यान्न उत्पादन ९७ लाख ४१ हजार मेट्रिक टन पुग्ने अनुमान छ । उक्त उत्पादन गत वर्षको तुलनामा १३ प्रतिशतले बढी हो ।

सबैभन्दा बढी धानको उत्पादनमा २१.०६ प्रतिशत वृद्धि भई ५२ लाख ३० हजार मेट्रिक टन पुगेको छ । चालु आवको ८ महिनामा सिँचाइ सुविधा थप ९ हजार ७७५ हेक्टरमा विस्तार भएको छ ।

कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत छ भने झन्डै १७ लाख हेक्टर जमिनमा खेती गरिन्छ । कृषि गणना २०६८ का अनुसार ६६ प्रतिशत जनता कृषि पेसामा संलग्न छन् । चालु आवमा धान, मकै, कोदो, फापर (तीते र मीठे)को कूल उत्पादन १ करोड ४ लाख मेट्रिक टन छ । हालको जनसङ्ख्यालाई धान्न ९६ लाख मेट्रिक टन अन्न आवश्यक पर्छ ।
गत वर्ष धान ४२ लाख ९९ हजार मेट्रिक टन उत्पादन भएकामा यस वर्ष ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष मकै २२ लाख ३१ हजार मेट्रिक टन उत्पादन भएकामा यस वर्ष २२ लाख ५९ हजार मेट्रिक टन, कोदो ३ लाख २ हजार मेट्रिक टन उत्पादन भएकामा यस वर्ष ३ लाख ६ हजार मेट्रिक टन उत्पादन भएको छ ।

त्यसैगरी फापर (तीते र मीठे) को गत वर्ष ११ हजार ६०० मेट्रिक टन उत्पादन भएकामा यस वर्ष ११ हजार ८०० मेट्रिक टन र गहुँ गत वर्ष १७ हजार मेट्रिक टन उत्पादन भएको थियो ।

यस वर्ष तराइको झापा, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, मोरङ र रौतहटलगायत १० जिल्लामा धानको उत्पादनमा वृद्धि भएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालमा चैते धान, वर्षे धान र घैया धानको खेती हुँदै आएको छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदानमध्ये धानको मात्र २० प्रतिशत छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले अर्थतन्त्रको आकारमा सेवा क्षेत्रको अंश बढ्दै गए पनि कृषिको अंश घट्दै गएको बताउनुभयो । शिक्षित युवाको कृषि क्षेत्रतर्फ आकर्षण नहुनु, खेतीयोग्य जमिन घडेरीमा परिणत हुनु, सीमित व्यक्तिका हातमा प्रचुर जमिन हुनु, तथा जग्गा बाँझो राख्ने चलनले कृषिको अंश घट्दै गएको हो ।

देशभर २५ लाख ८० हजार रोपनी जग्गा पूर्णरुपमा बाँझो भएको कृषि विकास मन्त्रालयका सचिव डा. सुरज पोखरेलले जानकारी दिनुभयो । छैटौँ कृषि गणना २०६८ का अनुसार १ लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको उल्लेख छ । पछिल्लो १५ वर्षको अवधिमा कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान घट्दै आएको छ ।

 

  • 36Read This News:
  • 440504Total reads:
  • 252399Total visitors: