भुकम्प पीडितलाइ भवन निर्माणका लागि दोस्रो किस्ता वितरण

काभ्रे, १२ जेठ २०७४। काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका घर पुनःनिर्माण गर्न दोस्रो किस्ताको रकम वितरण गर्न थालिएको छ ।

स्थानीय तहको निर्वाचनले करिब दुई साता प्रभावित भएको पुनःनिर्माणको काम जिल्लाको दुर्गम क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर दोस्रो किस्ताबापतको रकम वितरण भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयका प्रमुख धु्रव गैँडाले जानकारी दिनुभयो ।

भूकम्पपीडितले पुनः निर्माणका लागि दोस्रो किस्ताबापत रु १ लाख ५० हजार पाउँछन् । जिल्लाका विभिन्न क्षेत्रमा खटिएका इन्जिनियरले प्रत्यक्ष अवलोकन गरी मापदण्ड पूरा भएको छ वा छैन हेरेर जिल्ला समन्वय समितिलाई जानकारी दिने र सो समितिको सिफारिसको आधारमा पीडितले दोस्रो किस्ताको रकम पाउने उहाँले बताउनुभयो ।

‘कतिपय ठाउँमा वास्तविक पीडितले पनि अनुदान पाएका छैनन्, नपाउनेले पाएका छन् त्यसको छानबिन गरिरहेका छौँ’ उहाँले भन्नुभयो ।

कार्यालय प्रमुख गैँडाले जिल्लाको कोशीपारी, महाभारत शृङ्खला डाँडापारीका विभिन्न गाउँपालिकामा इन्जिनियर परिचालन गरेर पुनःनिर्माणको लागि दोस्रो किस्ता वितरण भएको बताउनुभयो ।

अहिलेसम्म काभ्रेपलाञ्चोकमा दुई हजार ३७ भूकम्प पीडितले पुनःनिर्माणका लागि दोस्रो किस्ताबापतको रकम पाएका छन् भने अन्य २४४ जनाले विभिन्न गैरसरकारी संस्थामार्फत पनि दोस्रो किस्ताबापतको रकम प्राप्त गरेका छन् ।

जिल्लामा लाभग्राहीको सङख्या ६९ हजार ४३१ छ भने अनुदान सम्झौता भएकाको सङ्ख्या ६३ हजार ५११ छ । यीमध्ये ६१ हजार १३७ जनाले पुनःनिर्मााण्का लागि पहिलो किस्ताबापत रु ५० हजार प्राप्त गरेका छन् । पुनःनिर्माण भएका घर अवलोकनका लागि जिल्लामा १३७ इन्जिनियर परिचालन भएका छन् ।

 

  • 36Read This News:
  • 480751Total reads:
  • 288207Total visitors: