महानगरपालिकामध्ये सबैभन्दा बढी मतदान ललितपुरमा भयो

काठमाडौँ, १ जेठ २०७४ । सर्वत्र चासो र उत्सुकता रहेको चार महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरका बासिन्दाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् ।

स्थानीय निकाय पुनःसंरचनापछि गठन भएका पोखरा लेखनाथ, ललितपुर, भरतपुरसहित काठमाडौँ महानगरपालिकामा आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता थियो । औसतमा महानगरपालिकामा कुल मतदातामध्ये ७५ प्रतिशतभन्दा बढीले आफ्नो मताधिकार प्रयोग गरेको देखिन्छ । यो पहिलो चरणमा सम्पन्न निर्वाचनमा खसेको कुल मतप्रतिशतभन्दा बढी हो ।

पोखरा महानगरपालिकामा मतदाता सङ्ख्या १ लाख ६८ हजार ६७ रहेकामा १ लाख २४ हजार ६ सय १४ अर्थात् ७५.७४ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो महानगरपालिकाका रुपमा रहेको सो महानगरपालिकामा कुल ३३ वडा निर्धारण भएका छन् । पोखरा महानगरपालिकाको जनसङ्ख्या ४ लाख १४ हजार १४१ रहेको छ ।

भरतपुर महानगरपालिकामा कुल मतदाता १ लाख ५० हजार २ सय ७४ मध्ये १ लाख १२ हजार ७ सय ४१ मतदाताले मतदान गरेका थिए । यो मतदाता सङ्ख्याको ७५.०२ प्रतिशत हो । कुल २९ वडा रहेको सो महानगरपालिकामा जनसङ्ख्या २ लाख ८० हजार ५ सय २ छ ।

काठमाण्डौ महानगर पालिकामा मतदाता सङ्ख्या २ लाख ७१ हजार २ सय २१ रहेकामा निर्वाचनमा झन्डै ७० प्रतिशत मत अर्थात् करिब १ लाख ९० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । अन्य महानगरपालिकाको तुलनामा कामपाका बासिन्दाले कम मतदान गरेको देखिएको छ । कुल ३२ वडा रहेको कामपामा कुल जनसङ्ख्या ९ लाख ७५ हजार ४६३ छ ।

ललितपुर महानगरपालिकामा कुल १ लाख १२ हजार ९ सय २३ मतदातामध्ये सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँ ८९ हजार २ सय १४ मत खसेको थियो । ४ महानगरपालिकामध्ये सबैभन्दा बढी अर्थात् ७९ प्रतिशत हो । २९ वडा रहेको सो महानगरपालिकामा पछिल्लो जनगणनानुसार २ लाख ८४ हजार ९ सय २२ जनसङ्ख्या छ ।

निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन सम्पन्न भएका ३४ जिल्लाका २ सय ८१ स्थानीय तहमा ७३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।

भीष्मराज ओझा/रासस

 

  • 22Read This News:
  • 449516Total reads:
  • 260924Total visitors: