पाल्पा, २९ वैशाख २०७४ । रामपुर नगरपालिका–६ विजयपुरकी अगुवा कृषक निर्मला पोखरेल गोलभेँडा बिक्रीबाट एउटै याममा रु २ लाख बराबरको आम्दानी गर्नुभएको छ ।
एक रोपनी जग्गामा लगाएको गोलभेँडाबाट उनले सो आम्दानी गर्न सफल भएको हो । अमिता र सिर्जना जातको गोलभेँडा लगाएको छ । विगत तीन वर्षयता पोखरेलले व्यावसायिक रुपमा तरकारीखेती गर्दै आएकीछिन ।
“थोरै जग्गामा सोचेभन्दा पनि तेब्बर उत्पादन भयो” –उनी भन्छीन “बजारमा पनि गोलभेँडाको बिक्री मूल्य राम्रै पाइयो, व्यवसायबाट एकदमै सन्तुष्ट छु ।”
गोलभेँडाखेतीसँगै उनले काँक्रा, घिरौला, लौका, करेला, सिमी जातका तरकारी दुई रोपनी जग्गामा लगाएको छ । गोलभेँडा प्रतिकिलो रु ४०, घिरौला रु ७०, काँक्रा रु ४० र करेला रु ८० मा घरबाटै बिक्री गरिरहेकी छिन ।
उत्पादन बढेपछि एक रोपनीबाट विस्तार गरेर ३ रोपनीमा गोलभेँडाखेती विस्तार गर्ने सोच बनाएको छ । “व्यवसाय नगर्दासम्म घरखर्च र बालबच्चाको पढाइ खर्च चलाउन धौधौ थियो, तरकारी खेती सुरु गरेपछि सबै सहज भएको छ,” उनले भनिन ।
घरखर्च, दुई छोराको पढाइ खर्चबाट बाँकी रहेको रकम सहकारीमा बचत गर्ने गछिन।


