काठमाडौँ, २९ वैशाख २०७४। नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले विकासबाट वञ्चित दुर्गम ग्रामीण क्षेत्रमा योजना बनाई विकासका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पद तथा गोपनीयताको शपथपछि आज मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उहाँले राजनीतिक अस्थिरताका कारण दुर्गम ग्रामीण तहसम्म अपेक्षित विकास नभएकाले ती स्थानमा विकासका गतिविधि बढाउन सकेमात्र मुलुकको सन्तुलित विकास हुने बताउनुभयो ।
राज्यमन्त्री चौधरीले राजनीतिक असहमतिलाई सुल्झाएर सहज वातावरण बनाउन आफ्नोतर्फबाट पहल गर्ने बताउँदै अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) महासन्धिको १६९ अनुसार स्थानीय शासन सञ्चालनमा सबैको पहुँच पु¥याउने गरी कानुन कार्यान्वयन गर्ने विश्वास दिलाउनुभयो ।
उक्त मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले लामो समयको अन्तरालमा मुलुकमा स्थानीय तहको निर्वाचन हुन लागेकाले त्यसका लागि आवश्यक कानुन निर्धारित समयभित्र निर्माण गरिसक्नुपर्नेमा जोड दिनुभयो ।
आजै प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यमन्त्री चौधरीलाई शपथ गराउनुभएको थियो ।



