काठमाडौँ, २६ वैशाख २०७४ । आसन्न स्थानीय तहको निर्वाचनमा दल र स्वतन्त्रका गरी धेरै उम्मेदवार रहेको मतपत्रका बारेमा मतदातामा अन्योल नहोस् भनी निर्वाचन आयोगले मतदान गर्ने तरिकाका बारेमा सचेतना फैलाउने काम तीव्र पारेको छ ।
मुलुकमा झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतपत्र बदर नहोस् भनेर आयोगले मतदाता शिक्षा अभियानमार्फत मतपत्र र मतदान गर्ने तरिकाका बारेमा सचेतना अभियान अघि बढाएको हो । स्थानीय तह निर्वाचनका लागि मतदातालाई निर्वाचन चिह्नबारे जानकारी दिन यही वैशाख २८ गतेदेखि ३० गतेसम्म ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता/स्वयम्सेवक परिचालन गरिने भएको छ ।
आगामी निर्वाचनमा ६ आकारका मतपत्र छन् । सबैभन्दा बढी ६८ लहर (चुनाव चिह्न) भएको काठमाडौँको मतपत्र तथा सबैभन्दा सानो थोरै दल भएको मनाङमा १८ लहर भएको मतपत्र छ । अन्य जिल्लामा ४४, ३६, २८ र २२ लहर भएको मतपत्र रहेको आयोगले जनाएको छ ।
यही वैशाख ३१ गते हुने निर्वाचनको मतदान गर्ने समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान केन्द्रमा पुगिसक्नुपर्छ । त्यस्तै मतदाता परिचयपत्र साथमा लैजानुपर्छ । आयोगले वैशाख २८, २९ र ३० गते सबै मतदान केन्द्रबाट मतदाताको परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । निर्वाचनका लागि अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडाध्यक्ष, दुई खुला सदस्य, दुई महिला (एक दलितसहित) सदस्य गरी जम्मा ७ पदका लागि मतदान गर्नुपर्ने आयुक्त इला शर्माले बताउनुभयो ।
मतपत्रमा पहिलो लाइनमा अध्यक्ष वा प्रमुख, दोस्रो लाइनमा उपाध्यक्ष वा उपप्रमुख, तेस्रो लाइनमा वडाध्यक्ष, चौथौ लाइनमा महिला सदस्य, पाँचौँ लाइनमा दलित महिला सदस्य तथा छैटौँ र सातौं लाइनमा २ अन्य खुला वडा सदस्यका लागि रहेको छ ।
मतपत्रको छैटौँ र सातौँ लाइनमा संसद्मा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारका लागि मतदातालाई उम्मेदवार पहिचान गर्न सहज होस् भनेर छैटौंमा १ चुनाव चिह्न र सातौँमा एकै दलका २ चुनाव चिह्न राखिएको छ । खुला दुई वडा सदस्यका बारेमा मतदातालाई पहिचान गर्न उम्मेदवारको वर्णानुक्रमानुसार पहिलोलाई एक चिह्न र दोस्रोलाई दुई चिह्नको व्यवस्था गरिएको आयोगले जनाएको छ । स्वतन्त्र उम्मेदवारका लागि भने सबै लाइनमा एकै चुनाव चिह्न राखिएको छ ।
आयुक्त शर्माले भन्नुभयो, “ त्यहाँ रहेका २ चुनाव चिह्नका बारेमा कसैलाई पनि दुविधा नहोस्, त्यसमा पनि एकै स्वस्तिक चिह्न लगाउने हो, दुई पटक छाप लगाउने होइन । मतदाताले उम्मेदवारको चिह्न भएको कोठामा पर्ने गरी छाप लगाउनुपर्छ ।” यस बारेमा उम्मेदवारले पनि मतदातालाई सिकाउनुपर्ने उहाँको धारणा छ ।


