निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिह्न आज वितरण गर्ने

काठमाडौँ, २२ वैशाख २०७४। निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारलाई आज चुनाव चिह्न दिने भएको छ ।

पहिलो चरणको निर्वाचन कार्यक्रमानुसार अहिले बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

अहिले बिहान १० देखि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । आयोगले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई दलको नाममा कायम रहेको चुनाव चिह्न तथा अरु दलका उम्मेदवारलाई स्वतन्त्र चुनाव चिह्न प्रदान गर्ने छ ।

यसैबीच यही वैशाख १९ गते भएको मनोनयन दर्ता कार्यक्रममा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका विभिन्न पदमा ४९ हजार २ सय ७ जनाले मनोनयन दर्ता गराएको तथ्याङ्क प्राप्त भएको आयोगले जनाएको छ । यद्यपि अझै यकिन विवरण एकीकृत भइनसकेको आयोगको भनाइ छ ।

१३ हजार ५ सय ५६ पदमा छनोटका लागि हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा प्रमुख÷अध्यक्षमा १ हजार ९ सय २५, उपप्रमुख÷उपाध्यक्षमा १ हजार ४ सय २९, वडाध्यक्षमा १० हजार ८ सय ४१, प्रत्येक वडाबाट छनोट हुने २ सदस्यमा १८ हजार ३ सय ७१ र महिला सदस्यमा ९ हजार ३३ र दलित महिला सदस्यमा ७ हजार ४७२ उम्मेदवारी परेको जनाइएको छ ।

स्थानीय तहमध्ये सबैभन्दा बढी काठमाडौँ महानगरपालिकामा विभिन्न पदका लागि ८ सय ८७ को उम्मेदवारी परेको छ । निर्वाचन कार्यक्रमानुसार पहिलो चरणको निर्वाचनमा उम्मेदवारी दिई नाम फिर्ता लिन चाहने व्यक्तिलाई विहिवार नाम फिर्ता लिन समय प्रदान गरिएको थियो ।

 

  • 26Read This News:
  • 450826Total reads:
  • 262148Total visitors: