चौधरी बस्तीको गुजारा घुँगीको व्यापार, हप्तामा रु ७ हजारदेखि १० हजारसम्म आम्दानी

मोरङ, २१ वैशाख २०७४। मोरङको पथरी शनिश्चरे–८ मा रहेको चौधरी बस्तीको दैनिकी गुजरा टार्ने एउटै माध्यम बनेको छ अहिले ‘घुँगी’ । खोला तथा खेतबारीमा हिलोमा गाडिएको अवस्थामा पाइने ‘घुँगी’ यहाँका १५ घरपरिवार रहेका चौधरी बस्तीको गुजारा गर्ने व्यवसाय ‘घुँगी’को व्यापार बनेको हो ।

स्थानीय स्तरमा कमै पाइने ‘घुँगी’ टिप्न ऋषिदेव समुदायका मानिस भारतको खरियासम्म पुग्ने गरेको मोरङको पथरी शनिश्चरेका बाबुराम चौधरीले जानकारी दिनुभयो । “एक दिन लगाएर भारतको खरियादेखि घुँगी नेपाल ल्याउने गर्दछौ”, चौधरीले भन्नुभयो । मोरङका पैनी, ताल, खोला, पानी जमेको खेत लगायतका क्षेत्रमा घुँगी खोज्दै दिन बित्ने गरेको स्थानीयवासी रमेश चौधरीको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “बिहान झिसमिसेमा जोगवनीमा पुगी रेलमा चढी भारतको खरियामा पुग्ने गरेको छौँ ।” त्यस दिन साँझसम्म लगाएर खोला र खेतीबारीमा घुँगी खोजेर १देखी २ क्विन्टल जति बनाउँछौ र भोलिपल्ट घर आउने गरेको चौधरीले बताउनुभयो । २-४ दिन दिनको पूरै समय माया मारेर ‘घुँगी’ खोज्न लागिपर्ने गरेको उहाँहरु बताउनुहुन्छ । घरमा ल्याएपछि परिवारसहित मिलेर घुँगीलाई पखालेर सफा बनाएपछि स्थानीय हाटबजारमा बिक्री गर्ने गरेको अर्का घुँगी व्यापारी फूलावती देवी चौधरीले बताउनुभयो ।

घुँगी प्रतिकेजी रु ६० का दरले बिक्री गर्दै आएका छन् । हप्तामा ३ पटक भारतको खरियासम्म घुँगी खोज्न जाने गर्छन । रुघाले सताएको बेला यसको प्रयोगले रुघा ठीक हुने भएकाले सबै समुदायका मानिसले घुँगी खाने गरेको नियमितजस्तो घुँगीका पारखी स्थानीयवासी डिल्ली शर्मा वताउनु हुन्छ ।

दैनिक ३० देखि ५० केजीसम्म घुँगी बिक्री गर्दै आएको बताउने बाबुराम चौधरीले हप्तामा रु ७ हजारदेखि १० हजारसम्म आम्दानी गर्ने गरेको उहाँको भनाइ छ । सो व्यवसायबाट ५ जनाको परिवार धानेको चौधरीको भनाइ छ । चौधरी टोलमा उहाँजस्ता करिब ५० घुँगी व्यापारी छन् ।

-गोपालप्रसाद पोखरेल

 

  • 38Read This News:
  • 449743Total reads:
  • 261135Total visitors: