मङ्गोलीया स्वायत्त प्रदेशमा भएको डढेलो नियन्त्रण गर्न हजारौँ स्थानियको प्रयास

china mangolia fire 1चीन, २१ वैशाख २०७४। चीनको उत्तरी क्षेत्रमा पर्ने भित्री मङ्गोलीया स्वायत्त प्रदेशमा भएको डढेलो नियन्त्रण गर्न सात हजार सात सय जना लगातार प्रयासरत रहेका छन् ।

मङ्गलबारदेखि सुरु भएको डढेलो नियन्त्रण गर्न उनीहरुले बुधबार अबेरसम्म पनि प्रयास गरिरहेको अधिकारीहरुले जनाएका छन् । ग्रेटर हिङ्गन पहाडमा पर्ने बेइडाहे जङ्गलमा आगलागी भएको हो ।

मङ्गलबार बिहानसम्म सो जङ्गलको ५ हजार हेक्टर क्षेत्रमा आगलागी फैलिएको आगलागी नियन्त्रणसम्बन्धी क्षेत्रीय कार्यालयले जनाएको छ ।

सुख्खा वनस्पती, तीब्रगतिमा चलिरहेको परिवर्तनशील हावा, उच्च तापक्रम आदिका कारणले आगलागी नियन्त्रण गर्न कठिनाई भइरहेको आगलागी नियन्त्रणमा खटिएकाले बताएका छन् ।

आगो नियन्त्रणका लागि प्रदेश सरकारले अग्नी नियन्त्रक विमानहरु घटनास्थलमा पठाएको जनाएको छ ।

आगलागी भइरहेको प्रदेशको छिमेकी प्रदेश हेइलोङजिअङका झन्डै ६ सय अग्नी नियन्त्रक आगो निभाउन घटनास्थलतर्फ जाने तयारीमा रहेका छन् ।

अहिलेसम्म आगलागीका कारण स्पष्ट हुन नसकेको अधिकारीहरुले बताएका छन् । बसन्त ऋतुको बेला भित्री मङ्गोलीयामा अरू बेलाभन्दा बढी तापक्रम हुने भएकाले आगलागीको जोखिम पनि बढ्ने गरेको छ ।

सिमाना जोडिएको अर्को जङ्गलमा पनि गत आइतबार आगलागी भएको थियो । त्यो भने अहिले नियन्त्रणमा आइसकेको छ ।

 

  • 38Read This News:
  • 448728Total reads:
  • 260196Total visitors: