कास्की, ७ वैशाख २०७४ । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी कास्कीमा १५० मतदानस्थल र २८८ मतदान केन्द्र कायम गरिएको छ ।
३३ वडा भएको पोखरा–लेखनाथ महानगरपालिकामा २१०, ११ वडा भएको अन्नपूर्ण गाउँपालिका, ९ वडा भएको माछापुच्छ्रे गाउँपालिका र १२ वडा भएको मादी गाउँपालिकामा २१/२१ र ७ वडा रहेको रुपा गाउँपालिकामा १५ मतदान केन्द्र कायम भएको क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिनुभएको छ ।
निर्वाचन आयोगले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार जिल्लामा २ लाख २४ हजार ८११ मतदाता छन् । कुल मतदातामा ५ जना तेस्रो लिङ्गी पनि समावेश छन् ।
कार्यालयले गत वर्षको पुस १० देखि माघ १५ गतेसम्म टोली खटाइ फोटोसहितको मतदाता नामावली सङ्कलन गरेको थियो । जसबाट ४ हजार ३८५ नयाँ मतदाता थपिएका थिए ।
महानगरपालिकामा १ लाख ६८ हजार ६७, अन्नपूर्णमा १५ हजार ५६९, माछापुच्छ्रेमा १६ हजार ३०१, मादीमा १३ हजार ५५९ र रुपामा १३ हजार ३१६ मतदाता छन् ।
दोस्रो संविधानसभाको निर्वाचनमा जिल्लाका १ लाख ९७ हजार ६६८ मतदाताले मतदान गरेका थिए । निर्वाचनबाट जिल्लामा कुल ३८१ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
महानगरमा एक प्रमुख एक उपप्रमुख, ४ गाउँपालिकामा ४ अध्यक्ष/४ उपाध्यक्ष, महानगर र गाउँपालिकामा ७२ वडाध्यक्ष, १४४ वडा सदस्य, ७२/७२ महिला सदस्य र दलित महिला सदस्य निर्वाचित हुनेछन् भने नगरसभा र गाउँसभाले ११ जना दलित र अल्पसङ्ख्यकबाट मनोनीत गर्ने प्रावधान रहेको छ ।


