मकवानपुर, २ वैशाख २०७४ । मकवानपुर जिल्लाका घर घरमा स्थानीय मतदातालाई प्रशिक्षित गर्न आज बिहानैदेखि स्वयम्सेवक परिचालन गरिएको छ ।
८ गाउँपालिकामा ९/९ वडा, थाहा नगरपालिकाका १२ वडा र हेटौँडा उपमहापालिकाका १९ वडामा करिब ४ सय ७० जना मतदाता स्वयम्सेवक खटिएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत गोविन्दप्रसाद पौडेलले बताउनुभयो ।
यसैबीच हेटौँडा उपमहानगरपालिका वडा नं २ स्थित जिल्ला समन्वय परिषद्को भवनमा मुख्य निर्वाचन कार्यालय आइतबार सञ्चालन गरिन लागेको मकवानपुरका मुख्य अधिकृत दयाराम ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाका ८ गाउँपालिका र थाहा नगरपालिकामा भने यही वैशाख १२ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सञ्चालन गरिने छ ।
मकवानपुर जिल्लामा २ लाख २७ हजार ७ सय ६४ मतदाता र ३ सय ७ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भने ७३ हजार २ सय ६७ र थाहा नगरपालिकामा २९ हजार २ सय ३२ मतदाता रहेको बताइएको छ ।


