बिस्केट जात्रामा ११ जना घाइते, मध्यरातपछी प्रहरीले तान्यो रथ

भक्तपुरको प्रसिद्घ बिस्केट जात्रा सुरु भएपछि तौमढीमा भैरबको रथ तान्दै स्थानीय बासिन्दा ।

भक्तपुर, २९ चैत २०७३ । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा मध्यरातिसम्म भएको ढुङ्गा हानाहानमा ४ प्रहरीसहित ११ जना घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी हवल्दार राजनकुमार खत्री, प्रहरी जवान लक्ष्मी मल्ल, भक्तपुर नगरपालिका बासिन्दामध्ये वंशगोपाल निवासी सरोज शिल्पकार, कमलविनायक निवासी सञ्जीव मधिकर्मी, सुरज ठकुरी, भनपा–३ का सुरेश जटुजु, भनपा–१३ का क्षितिज धुकुवा, मनोहर चौथी र गोकुल सुवाल रहेका छन् ।

घाइतेमध्ये प्रनानी खत्रीको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि प्रहरी अस्पताल पठाइएको र अन्य घाइतेको भक्तपुर अस्पतालमा उपचार भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

टौमढीबाट सोमबार अपराह्न ५ बजेदेखि सुरु भएको भैरवको रथ तान्ने क्रममा रथलाई माथिका बासिन्दाले गोल्मढी पुर्याएको र रथलाई पुनः तलका बासिन्दाले तानेर टौमढी ल्याइएपछि राति ९ बजेदेखि ढुङ्गा हानाहान भएको थियो ।

ढुङ्गा हानाहान मध्यराति १२ः३० बजेसम्म जारी रहेपछि प्रहरीले भीडलाई हस्तक्षेप गरेर तितरवितर पारेको थियो र प्रहरीले नै रथलाई टौमढीबाट तानेर गःहिटी पुर्याएको थियो ।

भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तानेर जात्रा मनाउने प्रचलन रहेको छ ।

 

  • 35Read This News:
  • 449343Total reads:
  • 260762Total visitors: