भरतपुर अस्पतालमा एनआइसियु सेवा सबै निःशुल्क

चितवन, १२ चैत २०७३ । भरतपुर अस्पतालले अस्पतालमा सञ्चालन भएको नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) को सेवा निःशुल्क गर्ने भएको छ ।

अस्पतालको सेवा विस्तारसँगै एनआइसियु सेवालाई निःशुल्क गर्न लागेको हो । अस्पतालको ५४ औँ वार्षिकोत्सवका अवसरमा भोलिदेखि यो सेवालाई निःशुल्क गर्न लागिएको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताउनुभयो ।

नवजात शिशु सघन उपचार कक्षमा १२ वटा श्यया सञ्चालनमा छन् भने ८ श्यया थप गर्न लागिएको छ । एनआइसियुमा अत्यन्त संवेदनशील भएका शिशुको उपचार गरिन्छ ।

अस्पतालले आफैँ खर्च व्यहोरेर भएपनि सेवा निःशुल्क गरेको अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो । एक वर्षअघि सुरु गरिएको सो सेवामा यसअघि श्ययाको मात्र निःशुल्क गरिएको थियो ।

निजी अस्पतालमा रु ५ हजारदेखि रु ७ हजार तिर्नुपर्ने अवस्था छ । यस्तै, नवजात शिशुको उपचारका लागि छुट्टै कक्षमा सेवा सुरु गरिने भएको छ । १६ श्यया क्षमतासहितको नवजात शिशुका लागि सेवा सुरु गर्न लागिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

एनआइसियु र नवजात शिशु वार्डमा सबै सेवा निःशुल्क गरिएको डा मरासिनीले बताउनुभयो । यसका लागि उपकरण र जनशक्ति थप गरिने पनि उहाँले बताउनुभयो ।

भरतपुर अस्पतालमा उपचारका लागि बिरामी आकर्षित भएका छन् । अन्यत्रभन्दा सस्तो र स्तरीय सेवा दिन थालेपछि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामी बर्सेनी बढ्न थालेका हुन् । निजी अस्पतालमा उपचार खर्च महँगो हुने भएपछि सरकारी अस्पतालप्रति बिरामीको आकर्षण बढेको हो ।

 

  • 40Read This News:
  • 418421Total reads:
  • 231154Total visitors: