चीन, ७ चैत २०७३ । पूर्वी चीनमा माछा मार्ने माझी लिएर हिँडेको २ छुट्टाछुट्टै डुङ्गा दुर्घटनामा २ माझीको मृत्यु भएको छ भने ८ जना पानीमा डुबेर बेपत्ता भएका स्थानीय प्रशासनले बताएको छ ।
डुङ्गा दुर्घटनामा २ जनाको मृत्यु भएको र ८ बेपत्ता भएको स्थानीय सामुद्रिक तटवर्ती क्षेत्रका अधिकारीले जनाएका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको बताइएको छ ।
११ जना लिएर समुद्रमा माछा मार्न निस्केको एक डुङ्गा आइतबार बिहान करिब ५ बजेतिर सुलाङघु टापु नजिक डुबेको र यसमा यात्रारत ५ जनालाई सुरक्षित उद्धार गरिएको तटवर्ती सुरक्षा प्रशासनका प्रवक्ताले बताए ।
यसैगरी झाङझाउ सहर नजिकै अर्को १ डुङ्गा पानीभित्रको चट्टानमा ठक्कर खाई दुर्घटनाग्रस्त हुँदा २ जनाको पानीमा डुबेर मृत्यु भएको छ भने २ जना बेपत्ता रहेका बताइएको छ ।
बेपत्ताको खोजीका लागि सामुद्रिक क्षेत्रमा डुङ्गा तथा हवाई सहयोग पठाई खोजी कार्य जारी राखिएको छ ।


