महिलाको नेतृत्वमा रु दुई करोडको आयोजना

म्याग्दी, ६ चैत २०७३। अवसरमात्र पाउने हो भने विकास निर्माणका कार्यमा पनि महिला पुरुषभन्दा कम छैनन् भन्ने उदाहरण म्याग्दीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पर्ने विकट नागी गाउँका महिलाले प्रस्तुत गरेका छन् ।

गाउँका महिलाले गाउँमा नै महिला समूह गठन गरी साझा विकास अवधारणाअनुसार रु २ करोड लगानीमा सञ्चालन गरेको राम्चे खानेपानी तथा सरसफाइ उपभोक्ता आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

सरकारले महिला, जनजाति र दलितलाई सामाजिक कार्यमा अगाडि ल्याउन विशेष प्रोत्साहन गर्ने भनेर आफ्नो नीति तथा कार्यक्रममा प्रस्तुत गरेको भए पनि विकास निर्माणका कार्यमा महिला सहभागिता अत्यन्त न्यून रहने गरेको अवस्थामा म्याग्दीका महिलाले भने त्यति ठूलो आयोजनाको जिम्मा आफूहरुले लिएर साहसिक काममात्रै गरेका छैनन् महिलाले चाहे भने असम्भव भन्ने केही कुरा छैन भन्ने तथ्यलाई पनि पुष्टि गरिदिएका सरोकारवालाहरुले बताएका छन् ।

महिलाको लक्षित वर्गमा छुट्टिने रकमले गाउँमा सानो रकमको सानो कार्यबाहेक अन्य कार्यमा सक्रिय नभएको अवस्थामा नागीमा भने महिलाको नेतृत्वमा राम्चे खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको आयोजनाका अध्यक्ष राममाया पुनले बताउनुभयो ।

जिल्ला खानेपानी तथा सवडिभिजन कार्यालय, म्याग्दीको पहलमा रु २ करोड लगानीको राम्चे खानेपानी तथा सरसफाइ आयोजना राम्चेका महिलाकै नेतृत्वमा सम्पन्न हुन लागेकोे जिल्ला खानेपानी तथा सवडिभिजन कार्यालय, म्याग्दीका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो ।

११ जना महिलामात्र रहेको उक्त उपभोक्ता समितिले नागीमा सो आयोजना सुरु गरेपछि जिल्लाका अरु ठाउँमा पनि महिलाकै नेतृत्वमा उपभोक्ता समिति बन्ने क्रम सुरु भएको छ । उक्त खानेपानी आयोजना सम्पन्न भएपछि नागीका ३३७ जनसङ्ख्या प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

गत जेठ १ गतेदेखि निर्माण कार्य सुरु गरिएको उक्त आयोजनाको क्रमागत योजना भएकाले आगामी आवमा उक्त आयोजना सम्पन्न हुने जिल्ला खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय, म्याग्दीले जनाएको छ ।

यो वर्ष गाउँदेखि २ किमी दूरीमा रहेको रातोझाप्रा खोलाको मुहानबाट गाउँसम्म पानी ल्याउने योजना रहेको छ भने आगामी वर्ष गाउँमा १० वटा धारा निर्माण गरी पानी वितरण लाइन निर्माण गरिने अध्यक्ष पुनले जानकारी दिनुभयो ।

 

  • 30Read This News:
  • 453809Total reads:
  • 264759Total visitors: