पाल्पामा ४ वटा स्वास्थ्य चौकी भवन बन्दै

पाल्पा, ४ चैत २०७३ । पाल्पामा यस आर्थिक वर्षमा चारवटा स्वास्थ्य चौकी भवन निर्माण भइरहेका छन् । स्वास्थ्य सेवामा पहुँच र सहरदेखि गाउँसम्म सुलभ र सहज सेवा प्रदान गर्नका लागि स्वास्थ्य चौकीका भवन निर्माण कार्य थालनी गरिएको हो ।

जिल्लाभरिमा बिरकोट, रुप्से, कचल र छहरामा पक्की स्वास्थ्य चौकीको भवन निर्माण भइरहेको छ । यसै आवमा रामपुर नगरपालिकाको गाडाँकोटमा निर्माण भएको गाडाँकोट स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भई स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।

जिल्लाभरि हाल दुईवटा अस्पतालमा रामपुर अस्पताल र जिल्ला अस्पताल पाल्पा रहेका छन् । यसमा पाल्पा अस्पताल १५ श्ययामा सञ्चालित छ भने ५० श्ययामा स्तरोन्नति भएको पूर्वी पाल्पाको रामपुर अस्पतालको सुविधासम्पन्न पक्की भवन एक वर्षदेखि निर्माणाधीन रहेको छ ।

जिल्लामा दुई प्राथमिक स्वास्थ्य केन्द्र– ताहुँ र खस्यौली, ६२ स्वास्थ्य चौकी, ९ सामुदायिक स्वास्थ्य इकाई, ५ सहरी स्वास्थ्य केन्द्र गरी ८० वटा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् ।

यसका अलावा लुम्बिनी मेडिकल कलेज र मिसन अस्पताल, पाल्पा गरी दुईवटा निजी स्वास्थ्य संस्था पनि जिल्लामा हाल सञ्चालित रहेका छन् ।

 

  • 29Read This News:
  • 454205Total reads:
  • 264950Total visitors: