टर्की, २१ माघ २०७३ । जर्मन चान्सलर एन्जेला मर्केलले बिहीबार टर्कीका राष्टपति रेसेप तैयप एर्डोगानसँगको भेटमा आफूले टर्कीलाई अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न आग्रह गरेको बताउनुभएको छ ।
“मैले मेरो तर्फबाट टर्कीमा पछिल्लो समय देखिएको राजनीतिक सङ्कटलाई छिट्टै समाधान गर्न आग्रह गरें,” मर्केलले भन्नुभयो । भेटका अवसरमा टर्कीका राष्टपति एर्डोगानसँग आफूले शक्ति पृथकीकरणका साथै अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गर्न आग्रह गरेको उहाँले बताउनुभयो ।
त्यसैगरी चान्सलर मर्केलले जर्मन पत्रकारहरुलाई टर्कीमा मान्यता दिन र टर्कीमा प्रेस स्वतन्त्रतताका विषयमा चासो व्यक्त गरेको राष्टपति एर्डोगानसँगको भेटपटि सञ्चारकर्मीसँग बताउनुभयो ।
टर्कीका राष्टपति एर्डोगानले आफूले नयाँ संविधानमा शक्ति पृथकीकरणलाई प्रत्याभूत गर्दै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्ने व्यवस्था गरेको बताउनुभयो ।


