भारत, १४ माघ २०७३ । भारत प्रशासित काश्मिरमा अवस्थित एक सैनिक शिविर र सीमा क्षेत्रमा गस्तीमा रहेका सैनिकलाई हिमपहिरोले पुर्दा कम्तिमा १० जना भारतीय सेनाको मृत्यु भएको छ ।
भारतीय सेनाले दिएको जानकारी अनुसार गुरेज क्षेत्रस्थित शिविरमा रहँदै आएको १० जनामध्ये ३ जनाको हिमपहिरोमा परी मृत्यु भएको छ भने ७ जनालाई सकुशल उद्धार गरिएको छ ।
त्यसैगरी गस्तीमा रहेका अन्य ७ सैनिकको पनि सोही हिमपहिरोमा परी मृत्यु भएको भारतीय सेनाका कर्नेल राजेश कालियाले बताउनुभयो ।
उहाँका अनुसार ३ सैनिक अधिकारीको शव बुधबार हिउँबाट निकालिएको थियो भने थप ४ जनाको शव बिहीबार निकालिएको छ ।
उक्त क्षेत्रमा हरेक वर्ष चिसो याममा पर्ने हिउँ र हिमपहिरोका कारण हरेक वर्ष दर्जनौँ भारतीय तथा पाकिस्तानी सेनाको मृत्यु हुने गर्छ ।
सोही क्षेत्रमा बुधबार एकै परिवारका ३ जना भारतीय नागरिकको मृत्यु भएको थियो भने अर्को एक घटनामा एकजना सैनिक जवानको समेत मृत्यु भएको थियो ।
भारतीय मौसमविद्ले उक्त क्षेत्रमा आगामी २ दिनसम्म भारी हिमपात हुने जनाएपछि भारतीय अधिकारीले हिमपहिरोको जोखिम भएका क्षेत्रबाट सुरक्षित स्थलमा जान सर्वसाधारणलाई आग्रह गरेका छन् ।


