जर्मन चान्सलर मर्केलको टर्की भ्रमण कार्यक्रम तय

टर्की, १४ माघ २०७३ । सन् २०१६ को जुलाईमा भएको असफल राज्य विद्रोह प्रयासपछि टर्की सरकारद्वारा विपक्षीलाई लक्षित गरी व्यापक दमन गरेको प्रसङ्गपछि चिसिएको टर्की र जर्मनीबीचको सम्बन्धमा जर्मन चान्सलर एन्जेला मर्केल अर्को महिना टर्की आउने घोषणासँगै सुधार आउने अपेक्षा गरिएको छ ।

बिहीबार टर्कीका विदेश मन्त्रालयका प्रवक्ता हुसैन मफटोग्लुले जर्मन चान्सलर मर्केलले आगामी फेबु्रअरी २ मा टर्कीको भ्रमण गर्ने बताउनुहुँदै जर्मनी र टर्कीबीच असफल ‘कु’ पूर्व हरेक क्षेत्रमा बलियो सम्बन्ध रहेको तर गत वर्षको जुलाई १५ पछि सम्बन्धमा केही समस्या देखिए पनि भ्रमणले सम्बन्धलाई थप मजबुत पार्ने विश्वास व्यक्त गर्नुभयो ।

गत वर्षको असफल राज्य विद्रोहपछि टर्कीको भ्रमण गर्ने मर्केल केही महत्वपूर्ण विश्व नेतामध्ये एक हुनुहुन्छ । यसअघि अमेरिकी पूर्व उपराष्ट्रपति जो विडेनले टर्कीको भ्रमण गरिसक्नुभएको छ ।

त्यसैगरी बेलायती प्रधानमन्त्री थेरेसा मे पनि यही शनिबार टर्की आउँदै हुनुहुन्छ ।

भ्रमणका क्रममा जर्मन चान्सलर मर्केलले शरणार्थी समस्या तथा आतङ्कवादी सञ्जालबाट सुरक्षित रहन दुई देशको सहकार्यका बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

जर्मनीले टर्कीमा भएको असफल राज्य विद्रोहपछि सरकारपक्षबाट प्रतिपक्षीलाई साह्रै कमजोर पार्ने गरी कारबाही चलाएको भनी असन्तुष्टी व्यक्त गर्दै आएको छ भने टर्कीले राज्य विद्रोहमा सहभागी टर्कीका अधिकारीलाई सुपुर्दगी नगरेको भनी रोष व्यक्त गर्दै आएको थियो ।

चान्सलरले टर्की र जर्मनीबीच लामो समयदेखि रहँदै आएको सम्बन्धलाई पुनःताजगी गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रवक्ता मफटोग्लुले बताउनुभयो ।

विविध कारणले टर्कीबाट जर्मनी गई बसोबास गर्दै आएका टर्कीका विभिन्न अल्पसङ्ख्यक समुदायका कारण दुईदेशबीचको सम्बन्ध महत्वपूर्ण रहदै आएको छ ।

 

  • 24Read This News:
  • 417462Total reads:
  • 230218Total visitors: