इरानी पूर्व राष्ट्रपति रफ्सञ्जानीको ८२ वर्षको उमेरमा निधन

इरान, २६ पुस २०७३ । इरानी धर्म गुरु तथा प्रसिद्ध पूर्व राष्ट्रपति अकवर हुजेनी रफ्सञ्जानीको हृदयघातका कारण ८२ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

उहाँलाई हृदयघात भएपछि आइतबार तेहरानस्थित स्थानीय एक अस्पताल भर्ना गरिएको थियो ।

इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनीले आफ्ना पुराना मित्र तथा इरानका पूर्व राष्ट्रपति रफ्साञ्जानीको आकस्मिक निधन भएको भन्दै उहाँको मृत्युको खबरले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ ।

खामेनीले १९७९ को इस्लामिक क्रान्तिमा पुर्याउनु भएको योगदानको स्मरण गर्दै मुलुकले एक कर्मयोद्धालाई गुमाएको बताउनुभएको छ ।

इरानी राष्ट्रपति हसन रुहानीले पनि पूर्वराष्ट्रपति रफ् साञ्जानीको निधनप्रति शोक सन्देश जारी गर्दै मुलुकले एक इमान्दार, राष्ट्रप्रेमी एवम् कर्मठ व्यक्तिलाई गुमाएको बताउनुभएको छ । राष्ट्रपति रुहानीले उहाँलाई क्रान्ति, धैर्य र प्रतिरोधका प्रतिक भन्नुभएको छ ।

उहाँको निधनप्रति रुहानी प्रशासनले ३ दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सन् १९३४ मा जन्मनुभएका रफ्साञ्जानी इरानका प्रभावशाली राजनीतिज्ञ, धार्मिक विद्धान, र इरानका संस्थापक नेता आयतोल्लाह रुहोल्लाह मुसाभी खोमेनीका विश्वासपात्र हुनुहुन्थ्यो ।

सन् १९८९ देखि १९९७ सम्म राष्ट्रपति भएका रफ्साञ्जानीले सन् १९७९ को इरानी क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

 

  • 38Read This News:
  • 417707Total reads:
  • 230460Total visitors: