कञ्चनपुर, २६ असोज २०७३ । पश्चिमी सीमा नाका गड्डा चौकी हुँदै स्थल मार्ग भएर आउने पर्यटको सङ्ख्यामा वृद्धि भएको छ ।
गड्डा चौकीस्थित अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार कञ्चनपुरको पश्चिमी नाकाबाट तीन वर्षयतादेखि नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।
नेपालमा शान्ति सुव्यवस्था सुदृढ हुँदै गएपछि यस नाका भएर भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्यामा वृद्धि भएको कार्यालयका प्रमुख पदमराज भट्टले बताउनुभयो ।
गड्डा चौकी नाका भएर सन् २०१५ मा २ हजार ६० पर्यटक भित्रिएका थिए भने सन् २०१६ को सेप्टेम्बर महिनासम्म १ हजार ६७३ पर्यटक भित्रिएका छन् । जुन गतवर्षको यही अवधिको भन्दा पर्यटक भित्रिने सङ्ख्यामा आधाले बढी भएको अधिकृत भट्टले बताउनुभयो ।
सन् २०१५ मा यसै नाका भएर १ हजार, ५३६ पर्यटक बाहिरिएकामा सन् २०१६ को सेप्टेम्बरसम्म १ हजार १८१ पर्यटक बाहिरिएका छन् । सन् २०१३ मा यस सीमा नाका भएर १ हजार ६३९ भित्रिएका थिए भने सोही अवधिमा १ हजार ६१० पर्यटक बाहिरिएका थिए ।सन् २०१४ मा १ हजार ८०८ पर्यटक भित्रिएकामा सोही अवधिमा १ हजार ५९० पर्यटक बाहिरिएका कार्यालयले जनाएको छ ।
सीमा पुल वनवसा खुल्ने समय बढ्नु, यातायात र सडकलगायतमा हुँदै आएको सुधारले स्थल मार्ग भएर आउने पर्यटक बढ्न थालेको कार्यालय प्रमुख भट्टको भनाइ रहेको छ ।
गड्डा चौकीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, रसुवा, काँकडभिट्टा, भैरहवा, धनगढी, नेपालगन्जलगायतका ८ नाकाबाट विदेशी पर्यटक नेपाल आउने गर्छन् । गड्डा चौकी नाकाबाट आउने पर्यटक बर्दिया, चितवन, काठमाडौँ, पोखरा, कर्णाली घुम्नका लागि बढी भित्रिने गरेका छन् ।
पछिल्लो समय शुक्लाफाँटा र खप्तड घुम्न आउने पर्यटको सङ्ख्यासमेत बढेको छ ।


